17th December | 2018 | Monday | 1:29:46 AM

भूकम्पमा मृतकको संख्या ८३२ पुग्यो

रासस/एएफपी   POSTED ON : Monday, 01 October, 2018 (3:29:30 PM)

भूकम्पमा मृतकको संख्या ८३२ पुग्यो

इण्डोनेसिया । इण्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीले आइतबार दिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ । उनीहरूले खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने जनाएका छन् । इण्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या हजारभन्दा बढी हुनसक्ने बताए । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयवासी छन् । अरू सयौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाइ छ । अस्पतालका भवनमा पनि क्षति भएकाले घाइतेको उपचार लागि खुला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ ।

कतिपय मृत्यु भएकाको शब सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण ५ सय जनाभन्दा बढी घाइते भएको जनाइएको छ । इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ । प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कयौं मानिस हराइरहेको अनुमान गरिएको छ । 

भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायत भौतिक संरचनामा क्षति प¥याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन् । यसैवर्ष, लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ५ सय ५० भन्दाबढी मानिस मारिएका थिए । इण्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण इण्डोनेसियामा मात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । 


Views: 69