19th October | 2018 | Friday | 4:51:51 AM

कुर्दिस्तानमा संसदका लागि मतदान

रासस/एएफपी   POSTED ON : Monday, 01 October, 2018 (3:32:51 PM)

कुर्दिस्तानमा संसदका लागि मतदान

इराक । इराकको स्वायत्त क्षेत्रको मान्यता पाएको कुर्दिस्तानमा नयाँ संसदका लागि मतदान सुरु भएको छ । कुर्दिस्तानमा गत वर्ष स्वतन्त्रतासम्बन्धी जनमतसंग्रह गरिएपछि क्रोधित भएको बग्दादका कारण कुर्दिस्तानमा आर्थिक सकट उत्पन्न भएको छ । इराकको उत्तरी क्षेत्रमा रहेको कुर्दिस्तानमा तीनवटा प्रान्त छन् । यहाँ करिब ३१ लाखले मतदान गर्दैछन् । एक सय ११ सदस्यीय संसदका लागि २९ वटा राजनीतिक दलका ६ सय ७३ जनाले चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । ११ वटा सिट भने धार्मिक तथा जातीय अल्पसंख्यकका लागि छुट्याइएको छ । तीमध्ये पाँचवटा सिट टर्केली उम्मेदवारका लागि, पाँचवटा इसाई समुदायका लागि र एउटा आर्मेनियाली समुदायका लागि छुट्याइएको छ । इराकी कुर्द इस्लामिक स्टेट्स जिहादी समूहविरुद्धको युद्धमा अमेरिकाका मुख्य साझेदार रहिआएका छन् । उनीहरू छुट्टै मुलुकको मान्यताका लागि पश्चिमा मुलुकबाट सहयोग प्राप्त हुने विश्वासमा छन् । सेप्टेम्बर २०१७ मा गरिएको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहमा ‘हुन्छ’ भन्ने पक्षमा व्यापक मत प्राप्त भएको थियो । तर यसलाई इराकी सरकारले अवैधानिक ठह¥याइएको छ । यसबाट खनिज तेलमा सम्पन्न कुर्दिस स्वायत्त क्षेत्रमाथि नकारात्मक प्रभाव परेको छ । बग्दादले कुर्दिस्तानमाथि आर्थिक दण्ड गर्नुका साथै खनिज तेलका मुख्य केन्द्रबाट कुर्दिस सैनिकलाई हटाउन सैनिक कारबाही गरेको थियो । यसबाट खनिज तेलबाट हुने मुख्य आम्दानी कुर्दिस्तानले गुमाएको छ । यस निर्वाचनले कुर्दिस्तान र बग्दादबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको २६ वर्षीय हउजार सलारले बताए । उनी क्षेत्रीय राजधानी अर्बिलमा मतदानका लागि आएका छन् । कुर्दिस्तानमा सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि भएको आक्रमणपश्चात आर्थिक समृद्धि आएको थियो । यस अवधिमा कुर्दिस्तान बाहेक इराकका अन्य क्षेत्र गृहयुद्धमा फसेका थिए ।

तर सन् २०१४ मा आइएसको उदय तथा खनिज तेलको मूल्यमा कमी आएसँगै यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो ।सन् २०१४ यता इराकी कुर्दिस्तानले चार अर्ब डलरभन्दा बढी ऋण लिइसकेको छ । सरकारी विवरणअनुसार, इराकी कुर्दिस्तानमा अहिले मासिक ८५० डलरभन्दा कममा जीवन गुजारा चलाउनुपर्ने अवस्था छ । यता, गत मे महिनामा संसदको निर्वाचन भए पनि इराकमा नयाँ सरकार गठन हुन सकेको छैन । सोमबार बग्दादमा संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्दैछ । 


Views: 41