17th December | 2018 | Monday | 12:46:33 AM

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

रासस/एएफपी   POSTED ON : Tuesday, 02 October, 2018 (2:44:35 PM)

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

वासिंटन । क्यानडा र अमेरिकाका व्यापार मध्यस्थकर्ताबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुवै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटक–पटक चेतावनी दिँदै आएका थिए । हाल प्रतिस्थापित सम्झौताबाट बढी स्वतन्त्र बजारलाई बढावा दिने, स्वच्छ व्यापार हुने तथा क्षेत्रमै बलियो आर्थिक वृद्धि हुने संयुक्त वक्तव्यमा अपेक्षा गरिएको छ । उक्त संयुक्त वक्तव्य अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले जारी गरेका हुन् । 

एक वर्षभन्दा बढी समयदेखि चलेको वार्ता तथा ६ सातादेखिको तिव्र छलफल पश्चात अमेरिका र क्यानडाबीचको आपसी मतान्तर सुल्झाउन सहमति भएको हो । यो नयाँ सम्झौताबाट यस क्षेत्रमा बसोबास गर्ने करिब ५० करोड जनतालाई फाइदा पुग्ने तथा प्रतिवर्ष करिब १० खर्ब अमेरिकी डलरको व्यापार हुनेछ । क्यानडाले आफ्नो दूग्धजन्य बजार अमेरिकाका लागि थप खुला गर्नेछ, तर क्यानडाले माग गरिरहेको विवाद निरूपण प्रावधानलाई अमेरिकाले परिवर्तन गर्नेछैन । यो सहमतिसँगै मेक्सिकोका राष्ट्रपति एन्रिक पीना नीटोको कार्यकाल आगामी डिसेम्बर १ तारिखमा सकिनु अगाबै सम्झौतामा हस्ताक्षर हुने वातावरण तयार भएको छ । 

अमेरिकी कानुन मुताबिक यो सम्झौताको कागजातमा हस्ताक्षर हुनु ६० दिन अघि अमेरिकी कंग्रेसमा प्रस्तुत गर्नुपर्दछ । अमेरिका र मेक्सिकोबीच नाफ्टालाई नयाँ स्वरूपमा अगाडि बढाउने विषयमा गत अगष्टमै सहमति भइसकेको छ । त्यसयता क्यानडाका व्यापार मध्यस्थकर्ता लगातार अमेरिकाको वासिंटनमा रहेर विवादित विषयमा छलफल गरिरहेका छन् । 

ट्रम्पले क्यानाडाली अधिकारीको व्यवहारका बारेमा निरन्तर असन्तोष प्रकट गरिरहेका छन्, र पछिल्लोपटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेट्नसमेत राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए । तर क्यानडाका अधिकारीले दुई नेताबीच भेटघाटको कुनै कार्यक्रम नै नरहेको भन्दै बचाउमा वक्तव्य दिएका थिए । अमेरिकी प्रशासनका एक उच्च अधिकारीले पछिल्लो पुनर्लेखन अत्यन्त सकारात्मक रहेको बताउँदै यो सम्झौता अमेरिका, मेक्सिको र क्यानडा तीनै देशका लागि जित भएको जानकारी दिए । नयाँ सम्झौतामा कामदारको पक्षमा बलियो संरक्षण रहेको, वातावरणीय नियम कडा बनाइएको, तथा डिजिटल अर्थतन्त्रलाई पनि यसपटक समावेश गरिएको छ । साथै, बौद्धिक सम्पत्तिको संरक्षणमा बलियो आधार तयार पारिएको छ । यसबाहेक, व्यापार कानुनको कार्यान्वयनमा बदमासी गर्न नपाइने प्रावधान राखिएको तथा ड्यूटी–फ्री बजारको फाइदा लिनबाट अरू मुलुकलाई नियन्त्रण गर्ने प्रयास यसपटक गरिएको अमेरिकी अधिकारीको भनाइ छ । नयाँ सम्झौतामा कारमाथि लगाइने भनिएको २५ प्रतिशत कर मेक्सिको र क्यानडाका हकमा लागू नहुने व्यवस्था छ, तर स्टिल र आलुमिनियममा वृद्धि गरिएको करका विषयमा भने अलग्गै वार्ता हुने बताइएको छ । 


Views: 80