17th December | 2018 | Monday | 1:28:23 AM

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु

एजेन्सी   POSTED ON : Tuesday, 02 October, 2018 (2:47:45 PM)

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु

पालु । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबारसम्म एक हजारभन्दा बढी पुगेको छ । 

यस भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको आहृवान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ । उद्धारकर्मीले भूकम्पबाट भत्किएका घरको भग्नावशेषबाट कैयौं मानिसको शव निकालेका छन् । प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीले जनाएका छन् । भूकम्प गएको चार दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन । घरका भग्नावशेषबाट जीवितै उद्धारको लागि उद्धारकर्ताको प्रयास जारी छ । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको हो । 

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयवासी छन् । सयौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाइ छ । अस्पतालका भवनमा पनि क्षति भएकाले खुल्ला ठाउँमा त्रिपाल टाँगेर घाइतेको उपचार भइरहेको छ । इण्डोनेसियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कयौं मानिस हराइरहेको अनुमान गरिएको छ । भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायत भौतिक संरचनामा क्षति पु¥याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली पराकम्प आउने क्रम जारी रहेको बताएका छन् । यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी मानिस मारिएका थिए । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।


Views: 83