17th October | 2018 | Wednesday | 9:15:41 PM

व्यापार सम्झौताप्रति आपत्ति

रासस/एएफपी   POSTED ON : Wednesday, 03 October, 2018 (2:15:23 PM)

व्यापार सम्झौताप्रति आपत्ति

मन्ट्रियल । वातावरणीय क्षेत्रमा क्रियाशील ग्रिनपिस र सिएरा क्लबलगायत संस्थाले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (यूएसएमसीए)मा वातावरणीय मुद्दामा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई फेरि ‘औद्योगिक उत्पादनमा महाशक्ति’ बनाउने र त्यसले अमेरिकी आर्थिक वृद्धि हुने घोषणा गरेका थिए । यो सम्झौताले करिब २० वर्षअघिको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई प्रतिस्थापन गर्नेछ । 

क्यानडाको ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले व्यापार सम्झौतामा हावाको गुणस्तरमा ध्यान दिनेगरी नयाँ वातावरण अध्याय राखिएको बताइन् । उनले भनिन्, ‘अहिले राखिएका वातावरणीय प्रावधान विगतका भन्दा बलिया छन् ।’

आलोचकले झण्डै १२ खर्ब डलरको यो व्यापार सम्झौताले विश्वको वातावरण र जनसंख्यालाई समानुपातिक रूपमा समेट्न आग्रह गरेका छन् । सामाजिक पक्षमा बढी वकालत गर्ने क्यानडेली परिषद्ले सम्झौतामा ‘जलवायु परिवर्तन’लाई नराखिएकोमा दुःख व्यक्त गरेको छ । ग्रिनपिसका तर्फबाट वक्तव्य जारी गर्दै चार्ली क्रेले बताए, ‘नाफ्टामा रहेको गलत नियमलाई अहिलेको सम्झौतामा पनि राखिएको छ र खनिज तेल उद्योगको वृद्धिलाई स्वागत गरिएको छ ।’

‘नयाँ सम्झौतामा जलवायु परिवर्तनलाई समावेश नगर्नु मात्र होइन कि जलवायु संकटमा समूहले गरेका कार्यमा पनि प्रश्न उठाइएको छ,’ सिएरा क्लबले भनेको छ । 

ट्रम्पको नेतृत्वमा रहेको अमेरिका यसअघि नै पेरिस जलवायु सम्झौताबाट अलग भइसकेको छ । यो सम्झौताले दुई डिग्री सेल्सियसले विश्वको तापक्रमलाई घटाउने लक्ष्य राखेको छ । आलोचकले जेसुकै भनेपनि सम्झौतामा केही राम्रा कुराहरू राखिएको छ । पुरानो नाफ्टा सम्झौतामा वातावरणसम्बन्धी अलग अध्याय राखिएको थिएन । नयाँ सम्झौतामा समुद्रको प्लास्टिक प्रदुषणलाई विशेषरूपमा महŒव दिइएको छ किनभने समुद्रको प्रदुषणमा प्लास्टिकले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ । 


Views: 43