19th November | 2018 | Monday | 2:48:09 AM

श्रीलंकामा राजनीतिक संकट : को हो प्रधानमन्त्री ?

एजेन्सी   POSTED ON : Monday, 29 October, 2018 (1:59:41 PM)

श्रीलंकामा राजनीतिक संकट : को हो प्रधानमन्त्री ?

कोलम्बो । श्रीलंकामा दुई नेताले आफूलाई प्रधानमन्त्री दाबी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक–फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नै सभामुखले प्रधानमन्त्रीको रूपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक–फरक कित्तामा देखिएका हुन् । सभामुख कारु जयसुरियाले विक्रमासिंघे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्त गर्न नमिल्ने तर्क गरेका छन् ।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिंघेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाइ छ । अर्को व्यक्तिले संसद्मा आफ्नो पक्षमा बहुमत पुष्टि नगर्दासम्म विक्रमासिंघेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनुपर्ने उनले बताएका छन् । 

राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका राजापाक्षेको पार्टीले भने संसदमा राजापाक्षेले बहुमत देखाउन सक्ने दाबी गरेको छ । त्यसैगरी अपदस्त प्रधानमन्त्री विक्रमासिंघेले पनि संसद्मा आफ्नो बहुमत रहेको बताउँदै आएका छन् । आफ्नो बहुमत देखाउन अपदस्त प्रधानमन्त्री विक्रमासिंघेले तत्काल संसद बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपति सिरिसेनाले भने शनिबार संसद्को बैठक स्थगित गरिदिएका हुन् ।

संसद्मा आफूमाथि हुन सक्ने चुनौती पन्छाउन उनले संसद् अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेको जनाइएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षास्थिति पनि मजबुत पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सबै सुरक्षाकर्मीलाई बिदा रद्द गराएर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन् । सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए । आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत गराएका थिए । गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरिसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए ।


Views: 62