21st November | 2018 | Wednesday | 9:11:30 AM

पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध

एजेन्सी   POSTED ON : Monday, 29 October, 2018 (2:02:17 PM)

पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्वआदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर संघले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन् । पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग सम्बन्धित सामग्रीलाई लिएर विवाद उत्पन्न भएपछि सर्वोच्चको यस्तो फैसला आएको जनाएको छ । पाकिस्तानको सञ्चारमाध्यम नियामक प्राधिकरण (पेमरा)का एक अधिकारीले प्रधानन्यायाधीश निसारले टिभी च्यानलमा सबै भारतीय सामग्री प्रसारण रोक्न आदेश दिएको जानकारी दिए । यो आदेश सबै भूसतही प्रसारण, भूउपग्रहीय प्रसारण र केबल च्यानलमा लागू हुने बताइएको छ । 

पाकिस्तानका केबल अपरेटर एसोसिएसनका अध्यक्ष खालिद आरेनले अदालतको आदेश ठीक नरहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउनु समाधान होइन, बरु हामीले गुणस्तरीय पाकिस्तानी सामग्री उत्पादनमा ध्यान दिन सक्नु पर्दछ ।’ सन् २०१७ मा लाहोर उच्च अदालतले भारतीय टिभी कार्यक्रममाथिका प्रतिबन्ध फुकुवा गरेको थियो । विवादित काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच तनाव बढेसँगै अक्टोबर २०१६ मा अधिकारीले भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाएका थिए । 


Views: 57