21st November | 2018 | Wednesday | 9:11:25 AM

जियालाई थप सात वर्ष जेल सजाय

एजेन्सी   POSTED ON : Tuesday, 30 October, 2018 (2:01:40 PM)

जियालाई थप सात वर्ष जेल सजाय

ढाका  । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेलसजाय तोकेको छ ।

खालिदा जियाका समर्थकले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । भ्रष्टाचारको आरोपमा उनीमाथि पाँच वर्षको जेल सजाय तोकिएको थियो । 

अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बंगालादेश नेसलिष्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बीएनपीको नेतृत्व गरिरहेकी छन् । पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरूपयोग गरेको उल्लेख छ । 

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको छ । जियाको पार्टी बीएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । तर उनका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् । जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अरू मुद्दा पनि अदालतमा विचाराधीन छन् । 

ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर भएको छ । उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ । जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रूपमा परिणत गरिएको छ । उनका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै विरोध गरेका छन् । गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको थियो । 


Views: 52