19th November | 2018 | Monday | 2:35:26 AM

श्रीलंकामा नयाँ मन्त्रिपरिषद गठन

रासस, एएनआई   POSTED ON : Wednesday, 31 October, 2018 (2:08:41 PM)

श्रीलंकामा नयाँ मन्त्रिपरिषद गठन

कोलम्बो । श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषद्को सपथ गराएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आहृवान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो ।

नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिएका छन् भने विदेशमन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको बताइएको छ । यसबाहेक, पूर्वसरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रूपमा सहभागी रहेका केही मन्त्रीले पुरानै जिम्मेवारी पाएका छन् ।

यहीबीच, संसदमा बहुमत रहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले जतिसक्दो चाँडो संसदको बैठक आहृवान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीबाट आफूलाई अपदस्थ गरिएको भन्दै विक्रमासिंघेले आफ्ना समर्थकलाई कोलम्बोमा बुधबार भेला हुन आहृवान गरेका छन् ।

कूल २२५ सदस्यीय संसदमा १२६ जना सांसदले हस्ताक्षर गरी संसदको बैठक जतिसक्दो चाँडो आहृवान गर्न सभामुखसँग आग्रह गरेका छन् । सभामुखले एक चेतावनी पत्र जारी गर्दै तत्काल संसदको आपतकालीन बैठक नबसे मुलुकमा हिंसात्मक परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् । कोलम्बोमा एक जनाको ज्यान जाने गरी भएको एक गोलीकाण्डमा प्रहरीले अपदस्थ सरकारका मन्त्री अर्जुना रणतुंगालाई गिरफ्तार गरेको थियो । विश्वकप विजेता श्रीलंकाली टोलीका कप्तानसमेत रहिसकेका रणतुंगालाई प्रहरीले जमानतमा छाडेको छ ।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलंकामा राजनीतिक तनाव बढेको छ । यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलंका फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ । 


Views: 65