19th November | 2018 | Monday | 1:56:13 AM

खशोग्जीका छोरा भन्छन् : बाबुको शव देऊ

रासस/एएफपी   POSTED ON : Tuesday, 06 November, 2018 (2:26:56 PM)

खशोग्जीका छोरा भन्छन् : बाबुको शव देऊ

वासिंटन । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरूले साउदी सरकारसमक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरूले खशोग्जीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

खशोग्जीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आएका छन् । सिएनएनसँग वासिंटनमा कुरा गर्दै अब्दुल्लाह खशोग्जी र उनका भाई सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्ने गरी साउदी सरकारसँग आग्रह गरिएको बताए । 

टर्कीका सरकारी वकीलले जमाल खशोग्जीलाई महावाणिज्य दूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताएका छन् । उनले खशोग्जीको शरीर टुक्राटुक्रा पारेको समेत बताए । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानका सल्लाहकार यासिन आक्टेले शुक्रबार एक लेख प्रकाशित गरी जमाल खशोग्जीको हत्यापश्चात शवलाई तेजाबमा डुबाइएको हुनसक्ने बताएका छन् ।

खशोग्जीको हत्याको अमेरिकालगाएत विश्वभरबाट निन्दा र भत्र्सना गरिएको छ । खशोग्जीका छोराहरूले बाबुले गरेका कार्यलाई राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरिएको आशंकासमेत व्यक्त गरेका छन् । सलाहले सिएनएनसँग भने, ‘मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही हुनुहुन्थेन । उहाँको अटल विश्वास राजतन्त्रप्रति थियो ।’

अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताए । उनले प्राप्त जानकारीहरू भ्रमित गर्ने किसिमका रहेको जानकारी दिए । उनले भने, ‘यो सामान्य परिस्थिति होइन र उहाँको मृत्यु सामान्य पक्कै होइन ।’ सलाहले जोड दिँदै भने, ‘साउदी राजाले दोषीहरू सबैलाई कानुनको कठघरामा उभ्याउने बताउनुभएको छ । मलाई राजाको वचनप्रति विश्वास छ ।’


Views: 58