जयापुरा । इण्डोनेसियाको सधैं अशान्त भइरहने क्षेत्र पपुवामा पृथकतावादीले गरेका आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत ३१ कामदारको मृत्यु भएको प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ ।
सुरक्षाकर्मीले मारिएका ती कामदारको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीले गरेको यो एक भीषण आक्रमणको रूपमा लिइएको छ । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको थियो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो ।
अन्य आठजना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन् । एकजना भने त्यहाँबाट भागेका तर उनी हालसम्म बेपत्ता रहेको बताइएको छ ।
Views: 76