25th April | 2019 | Thursday | 8:27:01 AM

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

(रासस/एपी)   POSTED ON : माघ १५, २०७५ (८:०० AM)

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन् । उनले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजानेसमेत बताए ।  

संसद्मा सोमबार जापानको विदेश नीतिका बारेमा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले दक्षिण कोरियासँग पछिल्लो समय उत्पन्न गतिरोधका बारेमा भने केही उल्लेख गरेनन् । विगतमा उनले दक्षिण कोरियालाई जापानको सर्वाधिक महŒवपूर्ण छिमेकी बताउँदै आएका थिए । प्रधानमन्त्री आबेले जापान–चीन सम्बन्धमा गत वर्ष अक्टोबरमा आफूले चीनको भ्रमण गरेयता सामान्य अवस्थामा आएको बताए । दुवै मुलुकबीच व्यापार र अरू क्षेत्रमा परस्पर सहयोग बढाउन जापान इच्छुक रहेको पनि उनले जानकारी दिए । उनले भने, ‘जापान–चीन सम्बन्ध अहिले सुमधुर अवस्थामा छ । आगामी दिनमा सबै क्षेत्रमा यो सम्बन्धलाई थप विस्तार गर्ने मेरो चाहना छ ।’

अमेरिकासँग चीन र जापान दुवै मुलुकको व्यापारिक सम्बन्धमा तनाव उत्पन्न भएसँगै दुवै मुलुक नजिएको अनुमान गरिएको छ । एसियाका परस्पर प्रतिस्पर्धी यी दुवै मुलुकको सम्बन्ध सन् २०१२ यता निकै कमजोर स्थितिमा पुगेको थियो । खासगरी जापानको नियन्त्रणमा रहेका पूर्वीचिनियाँ सागरमा अवस्थित टापुमा चीनले दाबी गरेपछि दुवै मुलुकबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । प्रधानमन्त्री आबेले भने, ‘तैपनि, जापानले आफ्नो प्रतिरक्षा क्षमतालाई सुदृढ गर्नु आवश्यक छ, खासगरी अन्तरिक्ष र साइबर क्षेत्रमा ।’ जापानले विगतदेखि नै चीनको बढ्दो सैनिक उपस्थितिले क्षेत्रकै सुरक्षामा चुनौती उत्पन्न भएको बताउँदै आएको छ । हालैका वर्षमा चीनले अन्तरिक्ष प्रविधिमा गरेको तीव्र्र विकासले जापानमाथि थप दबाब सिर्जना भएको छ । जापानी अधिकारीले उत्तर कोरियाले निर्माण गरेका क्षेप्यास्त्र र आणविक अस्त्रले पनि अरू समस्या निम्त्याउने बताइरहेका छन् ।   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानले अमेरिकी सामान बढी मात्रामा खरिद गर्नुपर्ने भनी निरन्तर दबाब दिइरहेका छन् । यसै वर्ष दुवै मुलुकबीच व्यापार वार्ता सुरु हुँदैछ । जापानले यसअघि नै निकै महंगा अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अरू हातहतियार खरिद गरिसकेको छ । 


Views: 81