25th April | 2019 | Thursday | 7:57:42 AM

हुवावेविरुद्ध अमेरिकाका २० वटा अभियोग

रासस/एपी   POSTED ON : माघ १६, २०७५ (७:२३ AM)

हुवावेविरुद्ध अमेरिकाका २० वटा अभियोग

वासिंटन । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावेविरुद्ध फौजदारी आरोपसम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिंटनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता सुरु हुनुअघि हुवावेविरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ ।

अमेरिकी न्याय विभागले इरानविरुद्धको अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लंघन गरी इरानसँग कारोबार गरेको तथा हुवावेको अमेरिकी साझेदार कम्पनी टी–मोबाइलबाट व्यापारिक गोप्यता चोरी गरेको अभियोग लगाएको छ । विश्लेषकले व्यापार वार्ता नियमितरूपमै अघि बढ्ने अनुमान गरेका छन् तर कुनै निश्चित उपलब्धि तत्कालै सम्भव नहुने आशंका बढेको छ । दुवै पक्ष आगामी मार्च १ तारिखभित्रै कुनै सहमतिमा नपुगे करिब २ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा हाल लागेको १० प्रतिशत करवृद्धिलाई २५ प्रतिशत पु¥याइने अमेरिकाले जनाएको छ । 

‘चिनियाँ अधिकारीले वार्तालाई निरन्तरता दिनेछन्’, ब्रुकिङ इन्स्टिच्टयुसनका वरिष्ट विश्लेषक डेभिड डोलरले बताए । उनले भने, ‘उनीहरू अमेरिकी न्याय विभागको कार्यबाट प्रसन्न हुने कुरै छैन तर मेरो विचारमा उनीहरूले हुवावे मामिलालाई व्यापार वार्तामा उठाउने छैनन् ।’ अमेरिकी व्यापार प्रतिनिधिले अमेरिकी प्रशासनको पछिल्लो कदमले दुवै मुलुकबीच जारी व्यापार वार्ताको वातावरणलाई नोक्सान पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

न्याय विभागले हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ बान्झाउमाथि पनि अभियोग लगाएको छ । संयुक्तराज्य अमेरिकाले मेङलाई सुपुर्दगी गर्न पनि क्यानाडासमक्ष आग्रह गरेको छ । मेङलाई क्यानाडामा गत वर्ष डिसेम्बर १ मा पक्राउ गरिएको छ । हृवाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्समाथि हुवावेविरुद्धको फौजदारी अभियोगको चीन–अमेरिका व्यापार वार्तासँग कुनै सम्बन्ध छ कि भनी सोधिएको प्रश्नमा भनिन्, ‘छैन, यी दुवै कुरा परस्पर फरक विषय हुन् ।’ दुवै पक्ष यस साता हुने वार्तामा ठोस उपलब्धि हुनेमा खासै आशावादी छैनन् । 

‘यस साताको वार्तामा ठोस उपलब्धि होला भन्नेमा विश्वास लागेको छैन’, अमेरिका–चीन व्यापार परिषद्का वरिष्ट उपाध्यक्ष एरिन एन्नीसले बताइन् । अमेरिकी व्यापारिक समुदायको समर्थनमा ट्रम्प प्रशासनले चीनमाथि आफ्नो अर्थतन्त्रमा आधारभूत परिवर्तन गर्न दबाब दिइआएको छ । चीनले भने अमेरिकी चाहनालाई अक्षरशः पालना गर्न नसकिने बताउँदै आएको छ । विश्लेषकहरूका अनुसार चीनले अमेरिकी शर्त स्वीकार गरेपनि चिनियाँ बजारमा प्रवेश त्यति सहज छैन ।

अमेरिकी व्यापार प्रतिनिधि एवं प्रमुख वार्ताकार रोबर्ट लाइटिजरले बौद्धिक सम्पत्तिको राम्रो संरक्षण होस् भन्ने चाहेको बताए । उनले चीनले आफ्ना राज्य नियन्त्रित उद्योग व्यवसायलाई प्रदान गरिरहेको भारी अनुदानलाई कटौती गर्नुपर्नेमा जोड दिए । चिनियाँ अनुदानले स्वच्छ प्रतिस्पर्धामा जटिलता आएको अमेरिकी भनाइ छ । ‘अमेरिका–चीन इतिहास मै यस पटकको वार्ताको क्षेत्र निकै व्यापक र गहिरो छ’, हृवाइट हाउसका वरिष्ट आर्थिक सल्लाहकार ल्यारी कुड्लोले बताए ।


Views: 87