25th April | 2019 | Thursday | 7:31:26 AM

ताइवान विमानस्थलमा अलपत्र परेका चिनीयालाई अस्थायी भिसा

  POSTED ON : माघ १७, २०७५ (१२:२५ PM)

ताइवान विमानस्थलमा अलपत्र परेका चिनीयालाई अस्थायी भिसा

ताइपेइ । ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनीया नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ । 

ताइवानको ताओयुन विमानस्थलको प्रतीक्षास्थलमा अलपत्र परेकाहरुमा ६४ वर्षीय लिउ झिङलियान र ४४ वर्षीय यान केफेन रहेका छन् । उनीरु दुबै चीनका मानव अधिकार अभियन्ता रहेको बताइएको छ । 

उनीहरु गत वर्ष सेप्टेम्बरमा थाइल्यान्डको बैंककबाट ताइवान आइपुगेका थिए । 

राजनीतिक कारणबाट उनीहरु चीनबाट भागेको बताइएको छ । थाइल्यान्डमा रहँदा उनीहरुले राष्ट्रसङ्घ मार्फत शरणार्थीको मान्यता पाएका थिए । 

तर थाइल्यान्डमा प्रहरीले पटकपटक उनीहरुसँग सोधपुछ गर्ने गरेको तथा कतिपय अवस्थामा त्यस्ता व्यक्तिलाई चीन फर्काइदिने गरेका कारण आफूहरु थाइल्यान्ड छाडेर ताइवान आइपुगेको उनीहरुले बताएका छन् । 

ताइवानका अध्यागमन अधिकारीहरुले दुबैलाई ताइवान प्रवेश गर्न अनुमति दिएको थिएन । ताइवानको लोकतान्त्रिक सरकारले उनीहरुलाई चीन नै फर्काउन आनकानी गरिरहेको अवस्थामा अन्ततः मानवीय दृष्टिबाट अस्थायी अनुमती दिएको छ । 

उनीहरु दुबैले क्यानाडामा शरणार्थी हुन पनि आवेदन दिएका छन् । 

लिउ र यानले आफूहरुलाई शरण दिएकामा ताइवान सरकारप्रति आभार व्यक्त गरेका छन् । तर उनीहरुले चीनका कारण ताइवानमाथि कुनै किसिमको समस्या निम्त्याउन नचाहेको पनि बताएका छन् । 

रासस–एएफपी


Views: 91