23rd August | 2019 | Friday | 3:02:51 PM

देश गृहयुद्धमा होमिनसक्ने राष्ट्रपति मदुरोको चेतावनी

(रासस,एएफपी)   POSTED ON : माघ २२, २०७५ (१०:१७ AM)

देश गृहयुद्धमा होमिनसक्ने राष्ट्रपति मदुरोको चेतावनी

कराकस । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् । उनले सो अन्तर्वार्तामा भने, ‘देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्र राष्ट्रहरूको क्रियाकलापमा निर्भर रहन्छ ।’ 

सो टेलिभिजन अन्तर्वार्तामा मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर हृवाइटहाउस छोड्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिएको जनाइएको छ । राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको उनले कडा शब्दमा आलोचना गरेको जनाइएको छ ।

त्यसअघि विपक्षी नेता हुँवा गुइदो एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भिœयाइने बताएका थिए । गत महिना गुइदोले आप्ूmलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् । 

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष सुरु भएको बताइएको छ । मदुरोले आफू नै निर्वाचन निर्वाचित राष्ट्रपति भएको बताउँछन् भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ । उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवैजनाले आ–आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले सो धारणा राखेका हुन् । सो प्रश्नको जवाफमा उनले भने, ‘हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन सक्दैन ।’ 

अहिले पनि भेनेजुएलामा विदेशी शक्ति राष्ट्रका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्नसक्ने उनको दाबी थियो । सोही अन्तर्वार्तामा उनले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आमनिर्वाचनको प्रस्तावलाई नकारेका थिए । यसअघि यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समयअगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्तापक्ष र विपक्षीले मान्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक संकट समाधानको प्रयासस्वरूप समयअगावै निर्वाचन गर्नसकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गरेका थिए । यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोविरुद्धमा शनिबार बृहत् प्रदर्शन गरेर उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरूले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले समयअगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेको बताइएको थियो । पछि मदुरोले दिएको भनिएको यो पछिल्लो अन्तर्वार्तामा भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन् । 

गत शनिबारमात्र यस देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शन आयोजना गरेका थिए । शनिबारको प्रदर्शनका क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइदोको समर्थनका लागि आहृवान गरेका थिए । सो समर्थनपछि झन् गुइदो अघि बढेको बताइएको छ । मदुरोलाई सत्ताबाट हटाउन गुइदोले सैन्य अधिकारीसँग गोप्य भेटवार्ता गरेको र मदुरोको मुख्यसमर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारमा बताइएको छ ।

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्ननसक्ने चेतावनी दिएकापछि मदुरोले यहाँको संकट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्नसक्ने अनुमान गरिएको थियो ।

भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक संकट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गुइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन् । उनले केही दिनअगाडि आफैँलाई अन्तरिम राष्ट्रपतिका रूपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरू केही विदेशीले समर्थन गरेपछि यहाँको संकट बढेको हो । 

यसैबीच स्पेनले भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रूपमा स्वीकार गरेको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि सारेको समयअगावैको  निर्वाचनलाई अस्वीकार गरेको जानकारी आएसँगै स्पेनले यस्तो निर्णय गरेको हो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार समाचारदातालाई यस्तो जानकारी दिइएको जनाइएको छ । 


Views: 95