19th August | 2019 | Monday | 8:46:32 PM

अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा

  POSTED ON : माघ २२, २०७५ (१२:५० PM)

अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा

वासिङ्टन । उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता कीम जङ–उनबीच यसै महिना दोस्रो शिखर बैठक हुने सम्भावना छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार विशेषदूत बाइगन बुधबार सियोल हुँदै उत्तर कोरिया प्रस्थान गरे । उनले प्योङयाङमा उत्तर कोरियाली नवनियुक्त समकक्षी कीम ह्योक–चोनसँग भेटवार्ता गर्नेछन् । नवनियुक्त कीम यसअघि उत्तर कोरियाका लागि स्पेनको राजदूत थिए । 

दुबैबीच राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको दोस्रो शिखर बैठकका बारेमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

दुई कुटनीतिक व्यक्तित्वबीच गत वर्ष जुनमा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच भएका सहमतिहरुको कार्यान्वयन प्रगतिका बारेमा पनि छलफल हुनेछ । 

विदेश मन्त्रालयको वक्तव्यमा दुबै शीर्ष नेतृत्वबीच भएको उत्तर कोरियामा पूर्ण आणविक निःशस्त्रीकरण गर्ने, द्विपक्षीय सम्बन्धलाई रुपान्तरण गर्ने तथा कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्ने विषयलाई अमेरिकाले उच्च महत्व दिएको उल्लेख छ । 

बाइगन दक्षिण कोरियाली अधिकारीहरुसँग छलफल गर्न आइतबार सियोल पुगेका थिए । 

आगामी दोस्रो शिखर बैठकमा उत्तर कोरियाको आणविक अस्त्र एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पूर्ण रुपमा बन्द गर्नेबारेमा ठोस सहमति हुने दुबै पक्षले अपेक्षा गरेका छन् । 

यद्यपी, दोस्रो शिखर बैठकको स्थान र मिति भने सार्वजनिक गरिएको छैन, तर भियतनामले दा नाङ वा हनोईमा शिखर बैठक गर्नेबारेमा प्रस्ताव गरेको छ । 

योनहाप


Views: 131