18th February | 2019 | Monday | 4:02:07 PM

सिंगापुरमा एचआईभीसम्बन्धी गोप्य विवरण सार्वजनिक

रासस/एएफपी   POSTED ON : Monday, 11 February, 2019 (2:18:06 PM)

सिंगापुरमा एचआईभीसम्बन्धी गोप्य विवरण सार्वजनिक

सिंगापुर । रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए ।
रिको एक प्रतिनिधि पात्रमात्र हुन् । उनीजस्तै एचआईभी भएका १४ हजार २ सय जनाको स्थिति, नाम र ठेगाना एक जना अमेरिकीले इन्टरनेटमा राखिदिएको पत्ता लागेको छ । सिंगापुरका एक जना वरिष्ठ चिकित्सक साथीबाट प्राप्त गरेको गोप्य विवरण ती अमेरिकीले अनलाइनमा राखेको विश्वास गरिएको छ ।
‘यो कार्यबाट एलजीबीटी समुदायका व्यक्ति सबैभन्दा बढी क्रुद्ध भएका छन्’, ३१ वर्षीय रिकोले बताए । उनी आफ्नो पूरा नाम भन्न चाहन्नन् । अनलाइनमा गोप्य विवरण राखिएपछि आत्तिएका उनले भने, ‘मलाई हेर्ने अरु मानिसको दृष्टिकोणमा अब परिवर्तन आउन सक्छ ।’ उनले आफ्ना सबै साथीलाई आफू एचआईभी–पोजेटिभ भएको बताएका थिएनन् ।
‘एलजीबीटी भएका व्यक्तिमाथि समुदाय सहिष्णु पनि हुनसक्ला तर यहाँको समुदाय एचआईभी–पोजेटिभ भएका व्यक्ति र समलिंगीलाई स्वीकार्न तयार हुँदैन । कम्तीमा मेरो जीवनकालमा यो सम्भव छैन’, उनले दुःखेसो पोखे ।
सिंगापुर धेरै रूपमा आधुनिक छ तर यहाँको सामाजिक परिदृश्य आर्थिक विकास झैं त्यही गतिमा परिवर्तन भएको छैन र कतिपय अवस्थामा ज्यादै रुढीबादी धारणाबाट आक्रान्त छ । एसियाका अरू देशजस्तै अवस्था छ ।
सिंगापुरमा एचआईभी भएकाले पटकपटक आफ्ना गोप्य विवरण सार्वजनिक हुने खतरा औंल्याउँदै आएका थिए । सिंगापुरको प्रभावशाली अखबार स्ट्रेट टाइम्समा दिएको प्रतिक्रियामा एक कामदारले आफूलाई पनि एचआईभी भएको विवरण सार्वजनिक भए जागीरबाट हटाउने व्यवस्थापनले धम्की दिएको बताइन् ।
एचआईभी भएका कुनै पनि विदेशीलाई सिंगापुरमा धेरै वर्षअघिसम्म पाइला टेक्न पनि दिइन्नथ्यो । सन् २०१५ मा विदेशीमाथिको त्यस्तो प्रतिबन्ध फुकुवा गरियो तर भ्रमणको अवधि छोटो बनाइन्थ्यो । सिंगापुरमा काम गर्न चाहने सबै विदेशीले स्वास्थ्य परीक्षणमा सफल हुनैपर्ने व्यवस्था थियो । करिब ५६ लाख जनसंख्या रहेको सिंगापुरमा धेरै विदेशी काम गर्छन् । यी कामदारमा धनाढ्य बैंकर्सदेखि निर्माण साइटमा काम गर्ने मजदूरसम्म रहेका छन् ।
इन्टरनेटबाट सार्वजनिक भएको एचआईभीसम्बन्धी विवरणमा पाँच हजार ४ सय सिंगापुरका बासिन्दा र आठ हजार ८०० जना विदेशी रहेका छन् । सिंगापुरको एनजीओ एक्सन फर एड्स (एएफए)की कार्यकारी निर्देशक सुमिता बनर्जीले पीडितले रुँदै आफ्नो संस्थामा सम्पर्क गरिरहेको बताइन् ।
‘एउटा मुख्य सरोकारको विषय नै यसअघि एचआईभी भएको बारेमा जानकारी नपाएका रोजगारदाता, साथीभाइ र परिवारको हो जसले यो समाचार आएलगत्तै क्रुद्ध प्रतिक्रिया दिने सम्भावना छ’, उनले भनिन् । केहीले यही कारण जागीर नै गुमाउनुपर्ने खतरा बढेको छ, उनको भनाइ छ ।
स्वास्थ्य अधिकारीले जारी गरेको निर्देशिका बमोजिम कुनै पनि रोजगारदाताले एचआईभी–पोजेटिभ भएका व्यक्तिलाई रोजगारबाट हटाउन पाइन्न । सिंगापुरका अधिकारीहरूले इन्टरनेटमा राखिएका व्यक्तिका गोपनीय जानकारीको पहुँच नदिन काम थालिसकेको जनाएका छन् । अधिकारीले एक शंकास्पद व्यक्ति मिखी फरेरा ब्रोचेजले गोप्य विवरण अनलाइनमा राखेको बताएका छन् । ती व्यक्तिसँग गोपनीय रेकर्ड अझै हुनसक्ने बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमले ब्रोचेजलाई संयुक्तराज्य अमेरिकामा पक्राउ गरिएको जनाएका छन् तर उनले गोप्य विवरण इन्टरनेटमा नराखेको दाबी गरेका छन् । एचआईभी–पोजेटिभ मनोविज्ञानवेत्ता ब्रोचेज सन् २००८ मा पहिलोपटक सिंगापुर आएका थिए । उनले आफ्ना साथी चिकित्सक लर टेक सियाङको रगत लिएर रक्त परीक्षणमा सफल देखाएका थिए । त्यही आधारमा उनी सिंगापुरमा बस्न पाएका थिए । तिनै साथीबाट ब्रोचेजले एचआईभी पीडित व्यक्तिका गोप्य विवरण प्राप्त गरेका थिए ।
सन् २०१६ मा प्रहरीले गोप्य सूचनाका आधारमा ब्रोचेज र लरको निबासमा छापा मारेर कागजातहरू, एउटा ल्यापटप र मोबाइल फोन बरामद गरेको थियो । ब्रोचेजलाई अन्ततः आफ्नो एचआईभी विवरणबारे झुटो विवरण दिएको, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको, गैरकानुनीरूपमा रोजगारीमा प्रवेश गरेको तथा लागूऔषध सेवन गरेको आरोपमा जेलमा समेत राखिएको थियो ।
सिंगापुर सरकारले सन् २०१८ मा ब्रोचेजलाई स्वदेश फर्काएको थियो तर उनीबारे अधिकारी अनभिज्ञ थिए । अहिले तिनै ब्रोचेजले सबै विवरण इन्टरनेटमा राखिदिए । यद्यपि अधिकारीले ब्रोचेजले किन गोप्य विवरण इन्टरनेटमा राखे भन्ने कुनै विवरण दिन अस्वीकार गरेका छन् । सिंगापुर सरकारले एचआईभी–पीडितलाई सहयो गर्न पूर्णसहयोग गर्ने स्पष्ट गरेको छ ।


Views: 48