27th May | 2019 | Monday | 6:02:54 AM

भारतमा निर्वाचन मिति घोषणा, अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने

एजेन्सी   POSTED ON : फाल्गुन २७, २०७५ (५:२३ AM)

भारतमा निर्वाचन मिति घोषणा, अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने

नयाँदिल्ली । भारतमा आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा भएको छ । भारतीय निर्वाचन आयोगले आइतबार घोषणा गरेको मतदान ७ चरणमा हुनेछ । पहिलो चरणको मतदान आगामी अप्रिल ११ मा हुनेछ । पहिलो चरणमा विभिन्न २० राज्यका ९१ सिटका लागि मतदान हुनेछ । यस्तै दोस्रो चरणको मतदान १८ अप्रिलमा हुनेछ । दोस्रो चरणमा विभिन्न १३ राज्यका ९७ सिटका लागि मतदान हुनेछ । यस्तै २३ अप्रिलमा हुने तेस्रो चरणको मतदानमा विभिन्न १४ राज्यका ११५ सिट हुनेछन् । यस्तै २९ अप्रिलमा हुने चौथो चरणको मतदान विभिन्न ९ राज्यका ७१ सिटका लागि हुनेछ । 

पाँचौं चरणको मतदान ६ मेममा हुनेछ । यसमा विभिन्न ७ राज्यका ५१ सिटका लागि मतदान हुनेछ । यस्तै १२ मेमा छैटौं चरणको मतदान हुनेछ । यसमा ७ राज्यका ५९ सिटका लागि मतदान हुनेछ । यस्तै अन्तिम चरणको मतदान १९ मेमा विभिन्न ८ राज्यका ५९ सिटका समावेश हुनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार विभिन्न सात चरणमा हुने मतदानको मतगणना एकै पटक २३ मेमा सुरु हुनेछ । भारतमा धेरैजसो मतदान केन्द्रमा विद्ययुतीय मतदान हुने भएकाले मतपरिणाम छिट्टै आउने जनाइएको छ । प्रमुख निर्वाचन आयुक्त सुनिल अरोडाले आइतबार पत्रकार सम्मेलन गरेर १७औं लोकसभा निर्वाचनको मिति घोषणा गरेका हुन् । यो निर्वाचनमा ९० करोड मतदाताले मतदान गर्ने उनले जनाए । उनका अनुसार १८ देखि १९ वर्षका डेढ करोेड मतदाताले पहिलो पटक मतदान गर्नेछन् । उनका अनुसार ८ करोड ४३ लाख नयाँ मतदाताले यसपटक मताधिकारको प्रयोग गर्नेछन् । 

निर्वाचन आयोगले मतदानका लागि १० लाख मतदान केन्द्र तोकेको छ । हरेक मतदान केन्द्रमा भीभीप्याटको प्रयोग गरिने निर्वाचन आयोगले जनाएको छ । विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौं मतदाताले सहभागिता जनाउने छन् । भारतको संविधानअनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरि पाँच वर्षका लागि नयाँ संसद् र सरकार गठन हुनेछ । नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरू बाहेक देशभर सयभन्दा बढी पार्टी पनि प्रतिस्पर्धामा रहने अधिकारीले बताएका छन् ।

यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा)का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । हिन्दू राष्ट्रवादी मुद्दा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाइँलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ । भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रूपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिश्पर्धा रोचक हुने भारत सञ्चारमाध्यमले लेखेका छन् । 


Views: 82