26th March | 2019 | Tuesday | 2:27:03 AM

बोइङ ७३७ संसारभरी उडानमा प्रतिबन्ध

रासस/एपी   POSTED ON : चैत्र १, २०७५ (५:२१ AM)

बोइङ ७३७ संसारभरी उडानमा प्रतिबन्ध

वासिंटन । संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमान अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताए । 

इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रूपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो । यही मोडेलको लायन एयरको विमान पनि ६ महिनाअघि इण्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो । 

राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेलगत्तै अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स सिरिजका विमानमा कुनै कमजोरी नदेखेको दाबी गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्पले हृवाइट हाउसमा पत्रकारसँग कुरा गर्दै विमानका बारेमा केही ‘नयाँ सूचना’ प्राप्त भएको बताएका थिए । तर उनले यस बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरे ।

‘सबै विमानको उडान स्थगन गरियो, र यो तत्कालै लागू भएको छ’, ट्रम्पले बताए । ट्रम्पले अमेरिकी जनताको सुरक्षा सर्वोपरी महŒवको भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यस बारेमा थप प्रष्ट पार्ने बताए । राष्ट्रपति ट्रम्पले क्यानडाका अधिकारी, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरी बोइङ ७३७ म्याक्सका उडान स्थगन गर्ने घोषणा गरिएको बताए । ‘बोइङ अद्वितीय कम्पनी हो’, ट्रम्पले भने, ‘उनीहरू अहिले ज्यादै मिहिनेतका साथ काम गरिरहेका छन् र चाँडै समस्या सुल्झने छ ।)ड 

यसैबीच, बोइङले जारी गरेको विज्ञप्तिमा म्याक्स सिरिजका विमान पूर्णसुरक्षित रहेको जनाएको छ । बोइङले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बोइङ ७३७ म्याक्सको सुरक्षाप्रति आफूलाई पूर्णआत्मविश्वास छ ।’ कम्पनीले अमेरिकी नागरिक उड्डयन प्रशासनसँग बसेर विमानको सुरक्षा प्रबन्धबारे एउटा निष्कर्षमा पुगिने जनाएको छ । बोइङका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गले कम्पनीले सचेततापूर्वक सक्रियताका साथ कार्य गरिरहेको बताएका छन् । अमेरिकासहित युरोपेली मुलुक, चीन, सिंगापुर, अस्ट्रेलिया तथा भारतलगायत विश्वका अधिकांश मुलुकले बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्ने र आफ्नो आकाशबाट उड्न नदिने घोषणा गरिसकेका छन् ।


Views: 53