22nd May | 2019 | Wednesday | 2:29:05 AM

अन्तरीक्षमा भारतको बढ्दो शक्ति

एजेन्सी   POSTED ON : चैत्र १४, २०७५ (५:३४ AM)

अन्तरीक्षमा भारतको बढ्दो शक्ति

नयाँदिल्ली । भारतले एन्टि स्याटलाइट हतियारको सफल परीक्षण गरेसँगै ऊ अतरीक्षमा महाशक्तिका रूपमा उदाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रका नाममा एउटा अप्रत्याशित सम्बोधन गर्दै देश अब ‘अन्तरीक्ष शक्तिका रूपमा स्थापित’ भएको घोषणा गरेका छन् । यद्यपि यसको परीक्षण कहिले भयो भन्नेबारे केही खुलाइएको छैन । तर, ओडिसाबाट भारतीय रक्षासम्बन्धी प्रविधि विकास गर्ने संस्था डिआरडिओले यसको सफल परीक्षण गरेको प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार देशवासीका नाममा सम्बोधन गर्दै जानकारी दिएका हुन् ।

भारतले पृथ्वीको तल्लो कक्ष (लोअर अर्थ अर्बिट (एलइओ) मा रहेको एक भूउपग्रहलाई क्षेप्यास्त्र आक्रमण गरेर खसाल्ने परीक्षण सफलताका साथ सम्पन्न गरेको प्रधानमन्त्री मोदीले जनाएका छन् । यो परीक्षणपछि भारत अन्तरीक्ष क्षमताभएका ठूला राष्ट्रहरूको लहरमा पुगेको पनि मोदीले बताए । यस्तो क्षमता अमेरिका, रूस र चीनसँग पनि छ । अब भारत पनि अन्तरीक्षको यी महाशक्ति राष्ट्रको सूचीमा जोडिएको छ । भारतका प्रधानमन्त्री मोदीका अनुसार एन्टि स्याटलाइट मिसाइल (एएसएटी) भनिएको भूउपग्रह प्रतिरोधी क्षेप्यास्त्रको सफल प्रक्षेपणपछि त्यस्तो क्षमता हासिल गर्ने भारत अमेरिका, चीन र रूसपछिको चौथो देश बनेको छ । उनले भने, ‘यसले भारतलाई बलियो, अझ बढी सुरक्षित बनाउनुका साथै शान्ति तथा सौहार्द्रताको दिशामा अझ अघि बढाउने छ ।’

बीबीसीका प्रतिरक्षा मामिला संवाददाता जनाथन मार्कस भन्छन् ‘भारतका प्रधानमन्त्रीको घोषणा अन्तरिक्षको सैनिकीकरण गर्ने होडबाजी तर्फको एक भाग हो ।’ संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले त देशको सशस्त्र सैन्यको एक स्वतन्त्र एकाइका रूपमा एउटा पूर्णस्तरको ‘अन्तरीक्ष सेना’ नै स्थापना गर्ने प्रस्ताव गरेको छ । 

यो समाचारपछि अस्त्र नियन्त्रण अभियानकर्मीहरूले अन्तरीक्षको सैनिकीकरण गर्ने जारी गतिविधि नियन्त्रण गर्नु पर्ने जरूरी आवश्यकताका सम्बन्धमा आवाज उठाउन सक्ने चिन्ता बढेको छ । सन् २००७ मा चीनले एउटा मौसम अध्ययन गर्ने भूउपग्रह नष्ट गरेर यस्तै प्रकारको क्षेप्यास्त्र परीक्षण गर्दा सम्भावित अन्तरीक्ष अस्त्र होडबाजीप्रति अन्तर्राष्ट्रिय चिन्ता व्यक्त भएको थियो । साथसाथै, यस्ता परीक्षणहरूपछि बाँकी रहने अवशेषहरूले सैनिक र गैरसैनिक प्रयोजनका महŒवपूर्ण भूउपग्रहहरूमा क्षति पुग्न सक्ने चिन्ता पनि व्यक्त भइरहेको छ । तर भारतले आफूले अस्त्र परीक्षणको अवशेष बाँकी नरहोस् र बचेका केही कुरा भए ती केही हप्ताभित्रै क्षय भएर पृथ्वीमा नै खस्न सकोस् भनेर सोचविचार गरेर नै तल्लो कक्षमा त्यस्तो परीक्षण गरिएको जनाएको छ । 

भारतले गरेको यस्तो अस्त्र परीक्षणको समयको बारेमा पनि प्रश्नहरू गरिएका छन् । राष्ट्रिय निर्वाचन हुनु दुई हप्ताभन्दा कम समय बाँकी रहँदा, विपक्षीले प्रधानमन्त्री मोदीलाई यसबाट राजनीतिक लाभ लिने प्रयास गरेको र देशको अन्तरीक्ष निकायको उपलब्धिको जस आफँैले लिन खोजेको आरोप लगाएको छ ।

भारतको यो एन्टी स्याटलाइट मिसाइल परीक्षणको समाचार सार्वजनिक भएपछि पाकिस्तानले कडा टिप्पणी गरेको छ । पाकिस्तानले अन्तरीक्षमा हुने यसप्रकारका परीक्षणबारे अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्ने बताएको छ । उसले युद्ध बढ्ने काम गर्नबाट सबै बच्नुपर्ने उसको प्रारम्भिक प्रतिक्रिया छ ।


Views: 106