22nd May | 2019 | Wednesday | 3:07:41 AM

भारतमा युद्धउन्माद भएको इमरानको आरोप

एजेन्सी   POSTED ON : चैत्र १४, २०७५ (५:३६ AM)

भारतमा युद्धउन्माद भएको इमरानको आरोप

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’ बाट ग्रसित भएको आरोप लगाएका छन् । फाइन्यान्सल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले भारतमा निर्वाचन हुन लागेकाले उसले पुनः केही गर्न सक्ने आशंका व्यक्त गरेका छन् । गत महिना भारत र पाकिस्तानबीच तनाव चुलिँदा शान्तिका लागि वार्ताको आहृवान गरेका खानले संसद्मा बोल्दै ‘भारतीय निर्वाचनलाई दृष्टिगत गरी केही न केही होला भन्ने डर आफूलाई लागेको’ बताएका थिए ।

फेब्रुअरी १४ मा भारत–प्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती विस्फोटनमा कम्तीमा ४० भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको थियो । पाकिस्तानले पनि आफू मौन नबस्ने भन्दै भारतीय कारबाहीको प्रतिकार गरेको थियो । खानले भारतमा निर्वाचन सम्पन्न नहुन्जेल आफू चिन्तित रहने बताएका छन् । भारतले गरेको हवाई आक्रमणलाई इंगित गर्दै उनले भने, ‘मलाई फेरि केही हुन्छ कि जस्तो लागेको छ ।’ सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । 

परमाणुशक्ति भएका यी दुई छिमेकी देशहरूबीच राम्रो सम्बन्ध छैन । उनीहरू दुवैले कश्मीर आफ्नो भएको दाबी गर्ने गरेका छन् । कश्मीरकै निहुँमा उनीहरूले युद्ध पनि गरेका छन् । फाइन्यान्सल टाइम्समा प्रकाशित अन्तर्वार्तामा खानले भने, ‘पुलवामामा आत्मघाती आक्रमण हुँदा मलाई मोदी सरकारले युद्धोन्मादलाई प्रोत्साहन गर्ला भन्ने लागेको थियो ।’ उनले थपे, ‘भारतीय नागरिकहरूले बुझ्नुपर्छ कि यो सबै निर्वाचन जित्नका लागि हो ।’ आतंकवादी संगठन जैश–ए–मोहम्मदसँग पाकिस्तानको कुनै सम्बन्ध नभएको भनाइ उनले दोहो¥याएका छन् । 

गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानमा विभिन्न आतंककारी संगठनविरुद्ध कारबाही गर्न थालेका थिए । उनले नयाँ पाकिस्तानमा आतंवादीहरूलाई कुनै स्थान नभएको बताए । पाकिस्तानमा लुकेर सञ्चालित भएको मानिने लडाकु समूह जैश–ए–मोहम्मदले पुलवामामा आफूले आक्रमण गराएको दाबी गरेको थियो । भारतीय पक्षले पाकिस्तानी भूमिमा जैश–ए–मोहम्मदलाई लक्षित गरेर हवाई कारबाही गरेको र सो समूहको शिविर ध्वस्त पारिदिएको दाबी गर्ने गरेको छ । जुन जैश–ए–मोहम्मदको चर्चा हुँदैछ त्यो भारतमा नै छ भन्दै खानले पुलवामामा आत्मघाती आक्रमण गर्ने व्यक्ति १९ वर्षीय भारतीय युवक भएको टिप्पणी गरे । आक्रमण गर्ने व्यक्ति तथा आक्रमणमा प्रयोग भएको कार भारतीय र विस्फोटक पदार्थ पनि भारतबाट आएको हुँदा किन पाकिस्तानलाई दोष दिइएको भनेर उनले प्रतिप्रश्न गरे ।

Views: 90