22nd May | 2019 | Wednesday | 2:20:59 AM

मोदीको चुनावी अभियान सुरु

एजेन्सी   POSTED ON : चैत्र १५, २०७५ (५:२७ AM)

मोदीको चुनावी अभियान सुरु

नयाँदिल्ली । आगामी लोकसभाको मतदान मिति नजिकिएसँगै छमेकी मुलुक भारतमा चुनावी सग्रमी बढेको छ । जहाँ विपक्षी दलहरू महागठबन्धन बनाएर चुनावमा होमिएका छन् भने सत्तारुढ दल भारतीय जनता पार्टी पनि आफ्नो गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्ध (एनडिए)लाई बलियो बनाउँदै चुनावमा होमिएको छ । 

दलहरू चुनावी प्रचार अभियानमा व्यस्थ भएपनि प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदीले भने बिहीबार चुनाव प्रचार अभियान सुरु गरेका छन् । अभियान उनले उत्तरप्रदेशको मेरठबाट सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार उनले मेरठमा चुनावीसभालाई सम्बोधन गर्दै उत्तर प्रदेशमा बनेको समाजवादी, बहुजन समाजवादी र राष्ट्रिय लोकतान्त्रिक दलको गठबन्धन तथा कंग्रेस आईमाथि कडा टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

पूर्वमुख्यमन्त्री अखिलेश यादव र मायावतीबीच भएको गठबन्धनलाई उनले ‘सराब’को संज्ञा दिएका छन् । समाजवादी, राष्ट्रिय लोकतान्त्रिक र बहुजन समाजवादी दलको गठबन्धनलाई उनले यस्तो बताएका हुन् । उनले सराब (मदिरा)ले कसैको हित नगर्ने भन्दै देशमा निर्णायक सरकार बनाउन भाजपालाई मतदान गर्न आग्रह गरेका छन् । उनले मेरठमा चुनावीसभालाई सम्बोधन गर्दै उत्तरप्रदेशमा समाजवादी र बहुजन समाजवादीले राम्रो काम नगरेको भन्दै भाजपालेमात्र राम्रो गरेको र आगामी दिनमा पनि राम्रो गर्ने बताए । 

उनले कंग्रेस आईमाथि पनि कडा टिप्पणी गरे । कंग्रेसले सार्वजनिक गरेको ‘न्याय’ कार्यक्रम पनि सफल हुन नसक्ने बताए । हालै कंग्रेस अध्यक्ष राहुल गान्धीले देशका अतिविपन्न ५ करोड परिवारलाई मासिक ६ हजारका दरले खातामै रकम पठाउने कार्यक्रम सार्वजनिक गरेका थिए । जसलाई न्याय भनिएको छ । मोदीले आफ्नो सम्बोधनका क्रममा भने, ‘उनीहरू खुवाउनेहरू होइनन्, खानेहरू हुन् कहाँबाट ल्याउँछन् जनतालाई दिने पैसा ?’ मोदी बिहीबारै जम्मु कश्मीर पनि पुगेका छन् । 

यसअघि प्रमुख विपक्षी दलकी महासचिव प्रियंका गान्धी बाडाले उत्तरप्रदेशमा आक्रामक प्रचारप्रसार गरिरहेकी छन् । उनले प्रयागराजबाट वाराणसीसम्म स्टीमरमा चढेर पहिलो चरणको प्रचार गरेकी छन् भने अमेठीमा बुधबार बुथ कार्यकताहरूसँग भेटघाट गरेकी छन् । प्रियंका सक्रिय राजनीतिमा प्रवेश गरेसँगै भारतीय राजनीतिमा नयाँ तरंग आएको छ । २०१४ को निर्वाचनमा नराम्रो पराजय भोगेको तत्कालिन कंग्रेसलाई फेरि सत्तामा पु¥याउन प्रियंकाले निकै आक्रामक प्रचार गरिरहेकी छन् ।

सन् २०१४ मा भएको निर्वाचनमा भाजपा विजयी भएको थियो । भारतमा अप्रिल ११ बाट सुरु हुने मतदान विभिन्न ७ चरणमा हुनेछ । अन्तिम चरणको मतदान मे १९ मा हुनेछ भने मतगणना २३ मेमा सुरु हुनेछ ।


Views: 105