25th May | 2019 | Saturday | 3:55:53 AM

ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

रासस/एएफपी   POSTED ON : चैत्र १९, २०७५ (६:२५ AM)

ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

लन्डन । बेलायती संसद् ‘हाउस अफ कमन्स’ मा सांसदले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ । 

बेलायतको संसद्ले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटका बारेमा ल्याएका प्रस्ताव दुई पटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली युनियनबीचको सम्बन्धमा तनावको अवस्था सिर्जना भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कमको मात्र समय छ । यही तथ्य मनन गरी सांसद वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् ।

बेलायतमा सन् २०१६ मा भएको जनमत संग्रहमा ब्रेक्जिटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर ब्रेक्जिट प्रक्रियामा सांसदहरूबीच मतैक्य हुनसकेको छैन । बेलायती संसद् र जनता नै अहिले पनि इयूबाट बेलायत बाहिरिनु पर्छ वा पर्दैन भन्नेमा विभाजित छन् । प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियनसँग गत वर्ष नोभेम्बरमा गरेको सम्झौतालाई बेलायती संसद्ले अस्वीकृत गरिसकेको छ । मेको प्रस्तावमा गत मार्च २९ मै बेलायत औपचारिक रुपमा युरोपेली युनियनबाट बाहिरिने सम्झौता भएको थियो । युरोपेली युनियनले बेलायत सरकारको अनुरोधमा उक्त मितिलाई मे २२ सम्म थप गरेको थियो । 

प्रधानमन्त्री मेले अघि सारेको एक अर्को प्रस्तावमा संसद्ले ब्रेक्जिटमा सहमति जनाए आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने बताएकी छन् । । तर यो प्रस्तावमा पनि सांसदले कुनै सहमति निकाल्न सकेका छैनन् । यस असहमतिका बीच सरकारले अब युरोपेली युनियनसँग आगामी अप्रिल १० सम्मको समयावधि थप गर्न समय माग्नु पर्नेछ अथवा अप्रिल १२ मा बिना कुनै सम्झौता युरोपेली युनियनबाट बेलायत बिदा हुनुपर्नेछ । यो परिस्थितिमा बेलायतको समग्र आर्थिक परिदृश्य अस्तव्यस्त हुनेछ । मे २२ भन्दा अझ ढिलो भए बेलायतमा युरोपेली संसदका लागि अरू युरोपेली युनियनका सदस्य राष्ट्रझैं चुनाव गर्नुपर्ने विचित्र परिस्थिति सिर्जना हुनेछ । 

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले आइतबार एक इटालेली टेलिभिजनसँग कुरा गर्दै बेलायतसँग युरोपेली युनियनको धैर्य टुट्दै गएको बताएका थिए । उनले भने, ‘बेलायती मित्रसँग हाम्रो गहिरो धैर्य छ तर त्यो धैर्यको पनि बाँध फुट्नै लागेको छ । अहिलेसम्म हामीलाई बेलायती संसदले हुन्न भनेको मात्र थाहा छ ।’


Views: 125