22nd May | 2019 | Wednesday | 2:14:45 AM

भारतले फेरि आक्रमणको योजना बनाएको पाकिस्तानको दाबी

एजेन्सी   POSTED ON : चैत्र २६, २०७५ (६:५४ AM)

भारतले फेरि आक्रमणको योजना बनाएको पाकिस्तानको दाबी

इस्लामावाद  । भारत र पाकिस्तानबीच तनाव कम भइरहेका बेला भारतले पाकिस्तानमाथि सैन्य कारबाहीको तयारी गरेको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरैशीले आइताबार इस्लामावादमा पत्रकार सम्मेलन गरे यही अप्रिल १६–२० सम्म भारतले पाकिस्तानमाथि सैन्य कारबाही गर्ने तयारी गरेको बताएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार भारतले अप्रिलको तेस्रो हप्ता पाकिस्तानमाथि आक्रमण गर्नेबारेको खुफिया सूचना पाकिस्तानले पाएको विदेशमन्त्रीले दाबी गरेका छन् । उनले जम्मु कश्मिरको पुलवामा १४ फेब्रवरीमा भएको जस्तो घटना गराएर भारतले पाकिस्तानमाथि आक्रमणको योजना बनाएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्दी मोदीले चुनाव जित्नका लागि त्यस्तो गर्न लागेको सूचना आफूहरूले पाएको बताए । 

उनले त्यस्तो सूचना पाएपछि राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई सोबारे जानकारी गराइएको बताए । उनले भारतको त्यस्तो तयारीबारे पाकिस्तानी जनतालाई पनि जानकारी दिन आवश्यक रहेको बताए । 

यता भारतले भने पाकिस्तानको त्यस्तो दाबीको खण्डन गरेको छ । पाकिस्तानी विदेशमन्त्रीको भनाइपछि भारतीय विदेशमन्त्रालयले एक बयान जारी गर्दै पाकिस्तानी विदेशमन्त्रीको भनाइ कपोकल्पित र युद्धोन्मादमा आएको बताएको छ । भारतले उल्टै पाकिस्तानले भारतमा आतंकवादी आक्रमण गराउन त्यस्तो प्रचारबाजी गरेको जनाएको छ । भारतले सीमापारबाट हुने कुनै पनि आतंकवादी आक्रमणको भने जवाफ दिने हक रहेको बताएको छ । 

स्मरणरहोस् यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भारतमा चुनाव हुन लागेको र मोदी सरकारले चुनावमा आफ्नो फाइदाका लागि पाकिस्तानमाथि फेरि आक्रमण गर्नसक्ने बताएका थिए । यता पाकिस्तानलाई गाली गरेर भारतमा सत्तारुढ दल भाजापाले राष्ट्रवादी मुद्दा उठाउँदै चुनावी फाइदा लिने रणनीति अपनाएको छ ।


Views: 90