22nd May | 2019 | Wednesday | 2:14:33 AM

इजरायलमा संसद्को निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा

माइक स्मिथ   POSTED ON : चैत्र २७, २०७५ (६:४४ AM)

इजरायलमा संसद्को निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा

जेरुसलेम (रासस/एएफपी) । इजरायलमा मंगलबार १२० सदस्यीय संसद (नेसेट)का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसकेका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन् ।

भ्रष्टाचारको आरोपका कारण विवादमा तानिएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्वसैनिक प्रमुख बेन्नी गाँजले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ । तर राजनीतिमा त्यति अनुभव नभएका पूर्वसैनिक प्रमुखलाई बेञ्जामिन नेतान्याहूलाई परास्त गर्न निकै कठिन हुने प्रक्षेपण पनि आएका छन् । 

मतदान निकै प्रतिस्पर्धी हुने भएकाले एकलौटी सरकार गठन गर्न कठिन हुने जनमत सर्वेक्षणले देखाएका छन् तर प्रधानमन्त्री नेतान्याहूले नै गठबन्धन सरकार बनाउन सक्ने सम्भावना रहेको देखाएका छन् । चुनावको अन्तिम नतिजा भने बुधबार बिहान प्राप्त हुनेछ । पूर्वसैनिक प्रमुख गाँजले प्रधानमन्त्री नेतान्याहूले मुलुकमा विभाजनकारी राजनीति गरेको आरोप लगाउँदै प्रधानमन्त्री नेतान्याहूको सुरक्षा सेवाप्रतिको धारणा नै गलत रहेको बताएका छन् । यो चुनाव ६९ वर्षीय वरिष्ठ नेता नेतान्याहूका निम्ति धेरै किसिमबाट जनमतसंग्रह सरह रहेको छ ।

नेतान्याहूले इजरायलको सुरक्षा र आर्थिक वृद्धिका निम्ति विशिष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान दिने गरिएको छ । तर नेतान्याहूको बढ्दो प्रचारबाजी र भ्रष्टाचारको आरोपका कारण कतिपय जनता परिवर्तनको पक्षमा उभिएका छन् । यसपटकको चुनावी अभियानका क्रममा प्रधानमन्त्री नेतान्याहूले विपक्षीमाथि कटुतापूर्ण चुनावी नारा प्रयोग गरेका छन् ।

चुनावी अभियानलाई नजिकबाट हेरिरहेका टिप्पणीकारले अरब, इजरायली र अरुमाथि प्रधानमन्त्री नेतान्याहूले चरम दुश्मनका रूपमा व्यवहार गरेकामा पनि आलोचना गरेका छन् । 

नेतान्याहूले चुनावको तीन दिनअघि मात्र एउटा विवादास्पद प्रतिज्ञा गरेका थिए । आफू विजयी भएमा पश्चिमी किनारामा रहेका इजरायली बस्तीलाई इजरायलमै गाभ्ने नेतान्याहूले घोषणा गरेका थिए ।

इजरायलको सीमालाई पश्चिमी किनारामा विस्तार गर्ने प्रधानमन्त्री नेतान्याहूको विवादास्पद भनाइले प्यालेस्टिनीसँग यसअघि भएको दुईदेश समाधानको आशालाई समाप्त गर्ने स्पष्ट छ । दुईदेशको मान्यता दिने, इजरायल, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको यसअघिको प्रतिबद्धतालाई यो घोषणाले अबमूल्यन गरेको छ । इजरायलका अति दक्षिणपन्थीको यो लामो समयदेखिको चाहना र कदम हो ।

नेतान्याहूले आफूलाई इजरायलको अत्यावश्यकीय राजनेताका रूपमा चित्रण गर्ने प्रयत्न गरेका छन् । चुनावी दौड अन्तिम चरणमा पुगेकै अवस्थामा पनि उनले आफ्ना निकटतम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोसँग भेटवार्ता गरेका छन् । चुनावी प्रचारका क्रममा उनले अमेरिकी राष्ट्रपति ट्रम्पबाट जेरुसेलमलाई इजरायलको राजधानी र गोलान हाइट्सको सार्वभौमसत्ता इजरायलकै भएको मान्यता दिलाउन सफल भएको बताएका थिए । 

उनले पश्चिमी किनाराका इजरायली बस्तीलाई इजरायली सार्वभौमसत्ताभित्र समायोजन गर्ने योजना बारेमा अमेरिकी नेतृत्वलाई जानकारी गराइसकेको पनि बताए । 

यसैबीच, उनले ट्रम्पकै शैली अपनाउँदै भने, ‘भ्रष्टाचारको अनुसन्धान केवल मलाई कमजोर देखाउन मात्र गरिएको हो, त्यसमा कतै सत्यता छैन ।’ सोमबार राति प्रधानमन्त्री नेतान्याहू प्रार्थनाका निम्ति जेरुसेलमको पश्चिमी पर्खाल पुगेका थिए । पूर्वसैनिक ५९ वर्षीय गाँजले पनि पार्टी गठन गरी नेतान्याहूलाई चुनौती दिन कम्मर कसेका छन् ।

उनले प्रधानमन्त्री नेतान्याहू भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै अब आमजनताले नेतान्याहूलाई बिदा गर्ने समय आइसकेको बताए । उनले पश्चिम किनारालाई इजरायलमा गाभ्ने नेतान्याहूको योजना दक्षिणपन्थी मतदातालाई आफूतिर आकर्षित गर्ने गैरजिम्मेवार प्रयास मात्र रहेको आरोप लगाए । 

जनमत सर्वेंक्षणले नेतान्याहूको लिकुड पार्टी र गाँजको ब्लू एण्ड हृवाइट पार्टीले बराबर स्थान प्राप्त गर्नसक्ने देखाएका छन् । इजरायली संसदमा १२० स्थान रहेको छ । सर्वेक्षणमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ ।

दुवैले ३०÷३० स्थान प्राप्त गर्न सक्ने सम्भावना रहेकाले दुवै पार्टीले सरकार गठनका निम्ति अरु साना दल र स्वतन्त्र उम्मेद्वारको सहयोग लिनु पर्नेछ । साना दक्षिणपन्थी पार्टीले नेतान्याहूलाई समर्थन गर्ने सम्भावना रहेकाले अबको प्रधानमन्त्री उनी नै हुने सम्भावना छ । तर विगतमा भएका जनमत सर्वेक्षणको नतिजा नमिलेकाले अहिल्यै चुनावी अड्कल गर्न कठिन छ ।


Views: 85