22nd May | 2019 | Wednesday | 2:17:39 AM

सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा

  POSTED ON : चैत्र २८, २०७५ (३:१४ PM)

सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा

एजेन्सी । सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ ।

उनलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षा मन्त्री अवाद इब्नौफले राज्यद्धारा सञ्चालित टेलिभिजनबाट घोषणा गरे ।

“मैले रक्षा मन्त्रीको हैसियतमा घोषणा गर्दछु की यस सरकारको नेतृत्वलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ,” इब्नौफले भने ।

बशिरले राज्य विद्रोह ‘कू’ गरी सन् १९८९ देखि हालसम्म शासन गर्दै आउनु भएको थियो । विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि उहाँलाई अहिले पदमुक्त गरिएको हो । 

सेनाले सैन्य परिषद् गठन गरिएको र दुई बर्षका लागि बशिरलाई हटाइएको पनि स्पष्ट पारेको छ । 

रक्षा मन्त्री इब्नौफले देशको हवाई क्षेत्र र सिमा क्षेत्रहरु बन्द गरिएको र अन्तर्रा्ष्ट्रिय आवतजावतमा अर्को सूचना जारी नहुँदासम्म निषेध गरिएको जनाएको छ ।  

सेनाले बन्दी बनाइएका सवै राजनीतिक नेताहरुलाई थुनामुक्त गरिदिएको पनि घोषणा गरेको छ । 

देशको शक्तिशाली निकाय मानिएको सुडानी सेनाले आज सार्वजनिक वक्तव्यमार्फत् जनताको पक्षमा उभिएको घोषणा गरेको छ ।  

सरकारी सञ्चार माध्यममार्फत सम्प्रेषित समाचारमा देशभरी रहेका राजनीतिक दलका बन्दी नेताहरुलाई थुनामुक्त गरिदिने घोषणा गरेको उल्लेख छ ।

खार्तुमका हजारौं बासिन्दा सेनाको मुख्यालय बाहिर विगत छ दिनदेखि धर्नामा बसिरहेका बेला सेनाले बन्दी नेताहरुलाई नियन्त्रणमुक्त गरिदिएको हो ।


प्रदर्शनकारीहरुले बन्दी बनाइएकाहरुलाई थुनामुक्त गर्न माग गरिरहेका थिए । उनीहरुको माग अनुसार सेनाले उनीहरुलाई छाडिदिएर प्रदर्शनकारीलाई सहयोग गरेको छ । उनीहरूले  राष्ट्रपति बशिरलाई हटाउन माग गर्दै नाराबाजी गरिरहेका थिए । 

खार्तुम अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति बसिरको राजीनामाको माग गर्दै उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका थिए ।

राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयांै व्यक्तिको ज्यान जाने दाबी गरेका थिए । 

सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन् ।

गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो । 

खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनःस्थार्पित गर्नुपर्ने आह्वानसहित प्रदर्शन शुरु भएको थियो । 

आन्दोलनको क्रममा २२ ओटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका थिए ।


Views: 118