24th July | 2019 | Wednesday | 2:47:53 PM

९१ सिटका लागि मतदान

एजेन्सी   POSTED ON : चैत्र २९, २०७५ (७:३० AM)

९१ सिटका लागि मतदान

नयाँदिल्ली  । भारतमा आगामी लोकसभा निर्वाचनका लागि बिहीबार पहिलो चरणको मतदान भएको छ । विभिन्न राज्यका ९१ सिटका लागि बिहीबार पहिलो चरणमा मतदान भएको हो । केही राज्यमा भने लोकसभा र विधानसभाका लागि एकैपटक मतदान भएको छ ।

पहिलो चरणमा १८ राज्य र २ केन्द्र शासितका ९१ सिटका लागि मतदान भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । उत्तरप्रदेश, पश्चिम बंगला, महाराष्ट्र, विहार आन्ध्र प्रदेशm अरुणचल प्रदेश, सिक्किम, ओडिशा, तेलंगाना, राजस्थान, जम्मु–कश्मीर छत्तीसगढलगायत राज्यमा पहिलो चरणमा मतदान भएको छ । 

यस्तै आन्ध्र, अरुणाचाल, सिक्किम ओडिसाको विधानसभाका लागि पनि मतदान भएको छ, पहिलो चरणमा करिब ५५ प्रतिशभन्दा धेरै मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि भारतीय निर्वाचन आयोगले मतदान प्रतिशत बढ्न सक्ने बताएको छ । पहिलो चरणमा भएको मतदानमा १२७९ उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै १४ करोड २० लाख मतदाता रहेका थिए । भारत संसारै सबैभन्दा ठूलो लोकतन्त्र भएको देश मानिन्छ । यो पटक भारतमा करिब ९० करोड मतदाता रहेका छन् । मतदाताको संख्याका हिसाबले यो संसारकै सबैभन्दा ठूलो हो । 

७ चरणमा हुने निर्वाचनको मतदानको बिहीबार सुरु भएको छ । अन्तिम चरणको मतदान मे १९ तारिखमा हुनेछ । मतगणना भने मे २३ मा सुरु हुनेछ । भारतमा ग्रामीण क्षेत्रमा मतपत्रद्वारा मतदान हुन्छ भने शहरी क्षेत्रमा विद्युतीय मतदान हुने व्यवस्था छ । बिहीबार पहिलो चरणको मतदानमा सबैभन्दा संवेदनशील मानिएको छत्तीसगढ र जम्मु–कश्मीरमा पनि छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगले मतदान भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

उता तेलंगानामा भने एकजना नेता चुनावी झडपमा परेर मारिएका छन् । आन्ध्रप्रदेशको अनन्तपुरमा टिडिपी र आइएसआरसिपी पार्टीका कार्यकर्ताबीच हिंसात्मक झडप भएको छ । यस हिंसामा टिडिपीका स्थानीय नेता चिन्ता भास्कर रेड्डीको मृत्यु भएको छ । वाइएसआर कंग्रेसका कार्यकर्तासँगको झडपमा उनी गम्भीर घाइते भएका थिए । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उता पहिलो चरणको मतदानका बीच कंग्रेस आईकी पूर्वअध्यक्ष तथा युपिए गठबन्धनकी संयोजक सोनिया गान्धीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र राय बरेलीमा बिहीबार उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दर्ताका क्रममा आमा सोनिया गान्धी, छोरा पार्टी अध्यक्ष राहुल गान्धी, छोरी पार्टी महासचिव प्रियंका गान्धी बाड्रा, ज्वाई रोबर्ट बाड्रा र नातिहरूसहित पूरा गान्धी परिवार रायबरेलीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उम्मेदवारी दर्ता गर्नुअघि सोनिया गान्धीले पार्टी कार्यालयमा एक धार्मिक अनुष्ठानसमेत गरेको जनाइएको छ । यस्तै रायबरेलीमा गान्धी परिवारले रोड शोसमेत गरेको थियो । र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सोनिया गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी अजय नभएको भन्दै २००४ मा पनि अटल बिहारी वाजपेयीलाई कंग्रेस पराजित गरेको स्मरण गराइन् । यसैबीच सोही कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष राहुल गान्धीको सुरक्षाका विषयमा लिएर उत्तरप्रदेश प्रशासनमाथि प्रश्न उठाइएको छ । कंग्रेसले गृह मन्त्रालयलाई पत्र लेखेर सुरक्षाबारे चासो राखेको छ । समाचारअनुसार बिहीबार राहुल गान्धीले सम्बोधन गर्दैगर्दा उनको टाउकोमा ७ पटक लेजर लाइट परेको थियो । सो लाइट स्नाइपर बन्दुकको रहेको कंग्रेसले जनाएको छ । तर, सुरक्षाकर्मीले भने सो लाइट क्यामेराको भएको बताएका छन् । स्मरण रहोस गान्धी परिवारका तीनजनाको हत्या भएको थियो । त्यसैले भारतमा गान्धी परिवारको सुरक्षाका विषयमा निकै चासो राखिन्छ । महात्मा गान्धी, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको थियो ।


Views: 116

सम्बन्धित सामग्री:

दक्षिण सिरियामा इजरायलको आक्रमण

: श्रावण ८, २०७६ (१०:५२ AM)