24th April | 2019 | Wednesday | 9:32:18 PM

पुटिन र किमबीच भेटवार्ताको तयारी

रासस/योनहाप   POSTED ON : बैशाख ३, २०७६ (६:१५ AM)

पुटिन र किमबीच भेटवार्ताको तयारी

सियोल । उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रूसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीले बताएका छन् । चीनमा आयोजना हुने एक अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रूसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रूसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ । 

स्रोतले योनहापलाई भनेको छ, ‘रूसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रूसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै छन् । त्यही समयमा दुवै नेताबीच रूसमै भेटवार्ता हुने सम्भावना छ ।’ राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने ‘वान बेल्ट, वान रोड’ अर्थात् बिआरआईको सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ । मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन तर रूसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए । दुवै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुवै देशका वरिष्ट कूटनीतिक अधिकारीको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ । 

किम जोङ–अनका अति निकट ठानिएका किम चाङ–सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गरेका थिए । नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गरेका छन् । यसै महिनाको सुरुमा रूसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गरेका थिए । पुटिनले गतवर्ष मे महिनामै नेता किमलाई रूस भ्रमणको निम्ता दिएको थियो तर भ्रमण हुन सकेको थिएन ।

उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुवरीको भियतनामको हनोईमा सम्पन्न वार्ता बिफल भएसँगै रूससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ । नेता किमले गत वर्षयता नै चीनको चारपटक भ्रमण गरिसेको छन्, तर सन् २०११ मा सत्तामा आएपछि नेता किमले रूसको भ्रमण गरेका छैनन् । 


Views: 45