22nd May | 2019 | Wednesday | 3:03:08 AM

श्रीलंका बम विष्फोटमा आइएसको संलग्नता

एजेन्सी   POSTED ON : बैशाख ११, २०७६ (६:४१ AM)

श्रीलंका बम विष्फोटमा आइएसको संलग्नता

कोलम्बो । गएको आइतबार श्रीलंकामा भएका शृंखलाबद्ध बम विष्फोटमा मुस्मिल आतंकवादी संगठन स्लामिक स्टेट (आइएसआइएस)को संलग्नता रहेको जनाइएको छ । 

बेलायती समाचार एजेन्सी रोयटर्सले आइएसले सो आक्रमणको जिम्मा लिएको पुष्टि भएको जनाएको छ । यद्यपि आईएसले सो आक्रमणमा आफ्नो संलग्नताबारे कुनै प्रमाण भने नदिइएको बताइएको छ । आइतबार श्रीलंकाको राजधानीलगायत क्षेत्रमा भएका शृंखलाबद्ध बम विष्फोटमा परी मंगलबारसम्म कम्तीमा ३ सय २१ जनाको मृत्यु भएको श्रीलंकाली अधिकारीले जनाएका छन् । 

श्रीलंकामा राष्ट्रिय शोककामाझ आइतवारको बम हमलामा ज्यान गुमाएकाको मंगलबार सामूहिक रूपमा अन्तिम संस्कार गरिएको छ । विभिन्न चर्च र होटेलहरूमा भएका हमलामा मारिनेको संख्या ३२१ पुगेको र झण्डै पाँच सयजना घाइते भएका प्रहरीले जनाएको छ । थप हमलाहरू हुनबाट रोक्न घोषणा गरिएको आपतकालीन अवस्था जारी नै रहेको छ । 

मंगलबार इस्लामिक स्टेट समूहले उस्को समाचार निकायमार्फत उक्त आक्रमणको जिम्मेवारी दाबी गरेको छ । बीबीसीले आइएसको दाबीलाई सावधानीपूर्वक लिनु पर्ने बताएको छ । किनकि विगतमा उक्त समूहले ठूला हमलाहरू भएलगत्तै जिम्मेवारी दाबी गर्ने गरेको छ । श्रीलंकाली सरकारले ती विष्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह नेसनशनल तौहिद जमातलाई दोषी ठह¥याएको छ । 

उक्त हमलाको सम्बन्धमा प्रहरीले हालसम्म ४० जना सन्दिग्धहरूलाई गिरफ्तार गरेको छ । एकजना प्रवक्ताले गिरफ्तारीमा परेकाहरूमा एकजना सिरियाली नागरिक पनि छन् जसलाई ‘स्थानीय सन्दिग्धहरूलाई केरकार गरेपछि’ पक्राउ गरिएको थियो । श्रीलंकाका अधिकारीहरूले सो आक्रमणमा विदेशी संगठनको पनि संलग्नता रहेको बताएका छन् । उनीहरूले स्थानीय संगठनले यसप्रकारको भीषण आक्रमण गर्नसक्ने क्षमता नरहेको भन्दै स्थानीय समूहको अन्तर्राष्ट्रिय समूहसँग सम्बन्ध रहेको हुनसक्ने बताएका छन् ।

हताहत भएकामध्ये कम्तीमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ । ती मध्ये १० जना भारतीय नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलंकाको विदेश मन्त्रालयले भारत, अमेरिकाm जापानलगायत मुलुकका नागरिक मारिएको जनाएको छ । 

आइतबार भएका दर्दनाक घटनापछि श्रीलंकामा आपत्कालीन व्यवस्था लागू गरिएको छ । सुरक्षाकर्मीले विभिन्न स्थानमा राखिएको विष्फोटक पदार्थ फेला पारेका थिए । त्यसपछि थप आक्रमण नहोस् भनेर सरकारले आपत्काल लगाउने निर्णय ग¥यो । सोमबार मध्यरातदेखि आपत्काल लागू भएपछि सुरक्षाकर्मीहरूले विशेष अधिकार पाएका छन् । सो अवधिमा सुरक्षा निकायका अधिकारीले अदालतको आदेशविनै शंकास्पद व्यक्तिमाथि छानविन गर्न सक्नेछन् । 

बीबीसीले अहिले श्रीलंकामा उच्च सुरक्षा सतर्कता अपनाइएको बताउँदै सर्वसाधारणमा विद्यमान त्रास हटाउनु अबको प्रमुख चुनौती रहेको उल्लेख गरेको छ । स्थानीय भन्छन्, ‘मानिसहरू डराइरहेका छन् । सोमबार प्रहरीले थप विष्फोटक पदार्थ फेला पारेको थियो । उक्त विष्फोटक पदार्थ निष्क्रिय बनाउँदै गर्दा एउटा बम पड्किएको थियो । सुरक्षा अधिकारीको अबको चुनौती भनेको सर्वसाधारणको आत्मबल फर्काउने हो ।’

देश शोकमग्न हुँदा श्रीलंकाको उच्च नेतृत्वमा भने केही विवाद देखिएको छ । सोमबार श्रीलंकामा आक्रमण हुनसक्ने चेतावनी सुरक्षानिकायलाई पहिला नै प्राप्त भएको विवरण सार्वजनिक भएको थियो । त्यसपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई त्यसको जानकारी नदिइएको मन्त्रीहरूले बताए । श्रीलंका सरकारका एक प्रवक्ताका अनुसार सरकारभित्र बढ्दो विवादका कारण गुप्तचर सूचनाबारे जानकारी दिइने बैठकमा लामो समयदेखि प्रधानमन्त्रीलाई नै सहभागी गराइएको छैन । 

गत वर्ष अक्टोबरमा राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमासिंघेलाई पदमुक्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको थियो । तर सर्वोच्च अदालतले विक्रमासिंघेलाई पुनस्र्थापित गरिदिएको थियो । त्यसयता राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी बैठकहरूमा सहभागी गराउने गरेका छैनन् । 

सरकारका प्रवक्ता राजित सेनारत्नेका अनुसार गुप्तचर निकायले आइतबारको आक्रमण गराउने जिहादी समूहबारे अप्रिल ४ देखि नै चेतावनी दिँदै आएका थिए । त्यसमा आधारित भएर रक्षा मन्त्रालयले प्रहरी प्रमुखलाई जानकारी गराएको थियो । उनका अनुसार विदेशी गुप्तचर निकायले नेसनशल तौहिद जमात नामक अतिवादी समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए । 

अमेरिकी सञ्चारमाध्यमले श्रीलंकाका अधिकारीलाई उद्धृत गर्दै अमेरिका र भारतले सम्भावित घटनाबारे चेतावनी दिएको उल्लेख गरेका छन् ।


Views: 76