23rd August | 2019 | Friday | 11:46:39 PM

लोकसभा निर्वाचन : गान्धी र शाहको भाग्य मतपेटिकामा बन्द

एजेन्सी   POSTED ON : बैशाख ११, २०७६ (१०:२९ AM)

लोकसभा निर्वाचन : गान्धी र शाहको भाग्य मतपेटिकामा बन्द

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि मंगलबार तेस्रो चरणको मतदान भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार १५ राज्य र एउटा केन्द्र शासित राज्यमा ११६ स्थानका लागि मंगलबार मतदान भएको छ । 

तेस्रो चरणको चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र प्रमुख विपक्षी दल कंग्रेस आईका अध्यक्ष राहुल गान्धीको निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ । शाह गुजरातको गान्धी नगरबाट चुनावी मैदानमा छन् भने गान्धी केरलको वायनाड क्षेत्रबाट चुनावी मैदानमा छन् । 

राहुल चुनावी मैदानमा रहेको केरलको वायनाडमा करिब ७५ प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राहुल वायनाडसहित उत्तर प्रदेशको अमेठीबाट पनि चुनाव लड्दै छन् । उता शाह भने पहिलोपटक लोकसभाका लागि उम्मेदवार बनेका हुन् । उनी भाजपाका लागि सबैभन्दा सुरक्षित मानिएको गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा छन् । यसअघि यो क्षेत्रबाट भाजपाका संस्थापक नेता लालकृष्ण आडवाणी चुनाव लड्दै आएका थिए । 

मंगलबार मतदान भएको ११६ सिटमध्ये अधिकांशमा हाल भाजपाका सांसद छन् । २०१४ को आमनिर्वाचनमा यी क्षेत्रबाट भारतीय जनता पार्टी र यसको गठबन्धनले ६६ स्थान जितेको थियो भने कंग्रेस र यसको गठबन्धनमा रहेका दलले २७ स्थानमा मात्र विजयी भएका थिए । चुनावमा गुजरात (२६) र केरला (२०) राज्यका सबै स्थानका लागि मतदान भएको छ । यससँगै असमका चार, विहारका पाँच, छत्तीसगढका ११, कर्नाटक र महाराष्ट्रका १४–१४, उडिसाका छ, उत्तर प्रदेशका १०, पश्चिम बंगालका पाँच, गोवाका दुई, दादरा र नगर हवेली, दामन र डिउ तथा त्रिपुराका १–१ स्थानमा मतदान भएको छ । 

तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता थिए । भारतीय निर्वाचन आयोगले चुनावका लागि दुई लाख १० हजार मतदान केन्द्रको व्यवस्था गरेको छ । यो चुनावसँगै दक्षिणी भारतीय राज्यको चुनाव सम्पन्न भएको छ । उत्तर प्रदेशमा मंगलबारको चुनावले समाजवादी पार्टीका नेता एवं पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवसहित परिवारका चार सदस्यका साथै वरिष्ठ पार्टी नेता आजम खान तथा नायिका एवं भाजपा नेतृ जया प्रदाको भाग्यको फैसला गर्नेछ । 

भाजपाले सन् २०१४ को चुनावमा यहाँका १० स्थानमध्ये सात स्थान जितेको थियो भने समाजवादी पार्टीले तीन स्थानमात्र जित्न सफल भएको थियो । निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९.४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् । प्रधानमन्त्री मोदीले अहमदावादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Views: 171