24th August | 2019 | Saturday | 1:00:06 AM

पुटिन–किमबीच रूसमा शिखर वार्ता

रासस/योनहाप   POSTED ON : बैशाख १३, २०७६ (१०:४२ AM)

पुटिन–किमबीच रूसमा शिखर वार्ता

भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रूसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा शिखर वार्ता भएको छ । रूसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रूसको भ्लादिभोस्तक पुगेका थिए । उनलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभूषासहित स्वागत गरेका थिए । 

दुवै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता भएको छ । भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको छ । रूसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ जान लागेको बेला शिखर वार्ता भएको हो । 

दुवै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रूस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित भएको रूसी अधिकारीले जनाएका छन् । यद्यपि दुवै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी भएको छैन । कुनै नयाँ सम्झौतामा हस्ताक्षर नभएको क्रेमलिनले जनाएको छ । 

रूसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताएका छन् । उनले नेता किमलाई स्वागत गर्दै भने, ‘तपाईंको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा अझ सुधार आउनेछ, र कोरियाली प्रायःद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी राम्रो समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं ।’ उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रूसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने बताएका छन् । 

उनले क्रेमलिनका अनुसार प्रारम्भमा दुवै नेताबीच मात्र भेटघाट भएको थियो । त्यसपछि प्रतिनिधिमण्डलस्तरीय सामूहिक भेटवार्ता भएको छ । रूसी समाचार संस्था रिया नोभोस्तीका अनुसार दुवै प्रमण्डलबीच करिब चार घण्टा वार्ता भएको छ । किमका साथ उत्तर कोरियाका सैनिक, नागरिक एवं पार्टीका वरिष्ठ अधिकारी सहभागी छन् । 

रूसी प्रमण्डलमा रूसी उपप्रधानमन्त्री युरी टुटनेभ, विदेशमन्त्री सर्गेई लाभरोभ र यातायात मन्त्रीलगायत वरिष्ठ अधिकारीहरू छन् । कोरियाको आणविक हतियारबारे अमेरिकासँगको वार्ता विफल भएपछि किमले रूसतर्फ सम्बन्ध बढाएको विश्लेषण गरिएको छ । हालै भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच भएको वार्ता असफल भएको थियो । त्यसपछि किमे रूसतर्फ सम्बन्ध बढाएका हुन् । 

रूस, अमेरिका, जापान, चीन र दुई कोरिया रहेको ६ राष्ट्र सम्मिलित समूहले उत्तर कोरियाको आणविक हतियारबारे समधान गर्नुपर्नेमा रूसको जोड छ । यो समूहको बैठक लामो समयदेखि बस्न सकेको छैन ।


Views: 117