25th May | 2019 | Saturday | 2:32:55 AM

अमेरिकी प्रतिबन्धले दबाबमा छौं : रुहानी

एजेन्सी   POSTED ON : बैशाख ३१, २०७६ (९:०१ AM)

अमेरिकी प्रतिबन्धले दबाबमा छौं : रुहानी

तेहरान । अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण इरान अभूतपूर्व दबावमा परेको राष्ट्रपति हसन रुहानीले बताएका छन् । रुहानीका अनुसार अमेरिकाले कडा तुल्याएको आर्थिक प्रतिबन्धका कारण उत्पन्न आर्थिक अवस्था सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धताकाको भन्दा खराब भएको छ । 

गत साता अमेरिकाले खाडीमा लडाकू पानीजहाज तथा युद्धपोत खटाएपश्चात् इरान र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । राष्ट्रपति रुहानी देशभित्र ठूलो राजनीतिक दबावमा छन् । उनले आर्थिक प्रतिबन्धसँग जुध्न देशभित्र राजनीतिक एकताको आहृवान गरेका छन् । ‘युद्धका बेला हाम्रा सामु बैंक वा तेल बिक्री वा आयातनिर्यातको समस्या थिएन । केवल हतियार किन्नका लागि प्रतिबन्ध थियो,’ राजधानी तेहरानमा राजनीतिक अभियानकर्मीसँग बोल्दै रुहानीले भने, ‘दुस्मनहरूले दिएको दबाब हाम्रो इस्लामिक क्रान्तिको इतिहासमै अभूतपूर्व स्तरको छ । तर म विचलित छैन । हाम्रो भविष्यप्रति ठूलो आशा छ । यदि एकीकृत हुने हो भने हामी यी कठिन अवस्थाबाट पार पाउन सक्छौं भन्ने मलाई विश्वास छ ।’ 

अमेरिका र इरानबीच तनाव चर्किएका कारण सन् २०१५ मा गरिएको महŒवपूर्ण परमाणु सम्झौताको भविष्यमाथि प्रश्न उठेको छ । त्यतिखेर इरानले संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य तथा जर्मनीसँग उक्त सम्झौता गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष अमेरिकालाई सो सम्झौताबाट अलग्याए । अमेरिकाले आर्थिक प्रतिबन्ध पुनः लगाएपछि इरानले अन्य देशले पनि प्रतिबन्धमा अमेरिकालाई साथ दिए उसले परमाणु गतिविधि फेरि जारी राख्ने संकेत दिएको छ । 

रुहानीको सरकारसँग टुंग्याएको परमाणु सम्झौताबाट अमेरिका बाहरिएपछि इरानभित्र कट्टरपन्थीहरूको तीव्र दबाव राष्ट्रपति रुहानीमाथि परेको छ । उक्त सम्झौताबमोजिम इरानले संवेदनशील परमाणु गतिविधि सीमित पार्न र प्रतिबन्धबाट राहतको बदलामा अन्तर्राष्ट्रिय निरीक्षकलाई अनुमति दिन सहमति जनाएको थियो । अमेरिकी प्रतिबन्धका कारण इरानको तेल निर्यात निकै प्रभावित भएको छ भने विदेशी लगानी रोकिएका छन् । 

प्रतिबन्धका कारण अमेरिकी कम्पनीले इरानसँग प्रत्यक्ष कारोबार गर्न पाउँदैनन् । उनीहरूले इरानसँग कारोबार गर्ने कुनै पनि विदेशी कम्पनी वा सरकारसँग समेत कारोबार गर्न पनि पाउँदैनन् । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१९ मा इरानको अर्थतन्त्र छ प्रतिशतले संकुचित हुनसक्ने औंल्याएको छ । तर त्यो अनुमान गरेपछिको समयमा अमेरिकाले प्रतिबन्ध थप कडा पारिदिएको छ । उसले इरानसँग तेल किन्नलाई चीन, भारत, जापान, दक्षिण कोरिया तथा टर्कीलाई दिएको छुट अन्त्य गरिदिएको छ । साथै, गत महिना अमेरिकाले इरानको रेभल्युशनरी गार्ड कोरलाई विदेशी आतंककारी समूह भनी घोषणा गरिदियो ।

अमेरिकी कदमहरूको बदलास्वरूप आफूले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्ग थुनिदिने धम्की इरानले दोहो¥याएको छ । विश्वभर उपभोग हुने कुल तेलको पाँच भागको एक भाग सोही मार्ग भएर ओसारपसार गरिन्छ ।


Views: 47