27th June | 2019 | Thursday | 3:44:09 PM

पाकिस्तानमा आर्थिक संकट चुलिएको प्रधानमन्त्री खानको स्वीकारोक्ति

एजेन्सी   POSTED ON : जेठ २९, २०७६ (६:२९ AM)

पाकिस्तानमा आर्थिक संकट चुलिएको प्रधानमन्त्री खानको स्वीकारोक्ति

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानी नागरिकहरूसँग पाकिस्तानलाई ठीक बाटोमा ल्याउन र गरिबीसँग लड्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । 

इमरान खानले सबै पाकिस्तानीले यही जुन ३० सम्म आफ्नो सम्पत्ति घोषणा गर्न समय सीमा तोकेका छन् । यसरी स्वयं सम्पत्ति घोषणापछि बेनामी र वैध सम्पत्तिबारे जानकारी पाउन सजिलो हुने बताएका छन् । उनले भने, ‘जून ३० सम्म बेनामी सम्पत्ति, बेनामी बैंक खाता, विदेशमा राखिएको रुपैयाँ सार्वजनिक गर्नुहोस्, किनकि जुन ३० पछि यो मौका पाइने छैन ।’ 

उनले पछिल्ला १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट बढेर ३० हजार अर्ब पुगेको भन्दै वार्षिक जम्मा हुने ४ हजार अर्ब रुपैयाँमध्ये आधा रकम ऋणको किस्तान तिर्नमा खर्च हुने गरेको बताएका छन् । उनले बाँकी रुपैयाँले मुलुक चलाउन समस्या भएको समेत बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी जनता संसारमा सबैभन्दा कम कर तिर्ने जनता हुन् । तर ती थोरै मुलुकमध्ये पनि पर्छ जहाँ खैरातको बोझ पनि छ । यदि हामी तयार हुने हो भने हामीले कम्तीमा १० हजार अर्ब रुपैयाँ जम्मा गर्न सक्छौं ।’

पाकिस्तानी प्रधानमन्त्री खानले भनेका छन् । ‘म तपाईंहरू सबैसँग अपिल गर्छु, सम्पत्ति घोषित गर्ने जुन योजना ल्याएको छु, त्यसमा तपाईंहरू सबै सहभागी हुनुहोस् । हामीले आफूलाई बदल्नुपर्नेछ । अल्लाह कुरानमा भन्छन्, ‘हामी कुनै जनताको अवस्था परिवर्तन गर्न सक्दैनौं जबसम्म जनताले आफैं आफ्नो अवस्था सुधार गर्दैनन् । तपाईंहरूसँग जुन ३० सम्मको समय छ ।’ उनले बेनामी सम्पत्तिबारे आफ्नो सरकारसँग सूचना रहेको भन्दै विदेशी बैंकमा रहेका पाकिस्तानी नागरिकका बैंक खाताबारे पनि आफूसँग सूचना रहेको बताएका । 

जानकारहरूका अनुसार इमरान खानमाथि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को दबाब छ । उसले कर संकलन बढाउन भनेको छ । इमरानले सोमबार यसैका लागि यो स्वयं सम्पत्ति घोषणा योजना ल्याएका हुन् । 

पाकिस्तानले हालै आइएमएफबाट ६ अर्ब डलर ऋण पाएको थियो । यस ऋणका लागि पाकिस्तनले आइएमएफको नीतिअनुसार देशको आर्थिक नीति बनाउने प्रतिबद्धता गरेको थियो । पाकिस्तानमाथि आगामी १२ महिनामा ७ सय अर्ब रुपैयाँको कोष जम्मा गर्ने दबाब छ । 

आइएमएफले पाकिस्तानमा खर्च कटौती र कर वृद्धि गर्न भनेको छ । पाकिस्तानको बजेट यो मामिलामा ऐतिहासिक हुने बताइएको छ । किनकि यसैले पाकिस्तानको भविष्य तय गर्नेछ । आर्थिक संकटका साथै पाकिस्तानमा धनी र गरिबबीचको खाडल पनि बढ्दै गएको छ । पाकिस्तामा पछिल्ला वर्षमा वैदेशिक मुद्रा भण्डारण पनि घटिरहेको छ । 

पाकिस्तानसँग हाल करिब ७ अर्ब डलरमात्र वैदेशिक मुद्रा बचत रहेको बताइन्छ । पाकिस्तानको निर्यात व्यापारमा निकै गिरावट आएको छ भने महँगी पनि बढिरहेको छ । राजस्व घाटा वृद्धिले भुक्तानी सन्तुलन पनि खराब अवस्थामा छ ।


Views: 97