27th June | 2019 | Thursday | 4:28:10 PM

एक सय नागरिक मारिए

एजेन्सी   POSTED ON : जेठ २९, २०७६ (६:३२ AM)

एक सय नागरिक मारिए

माली । डोगोन जातिको बसोबास भएको मालीको मध्य भागस्थित एउटा गाउँमा भएको एउटा आक्रमणमा झण्डै एक सयजना मानिस मारिएको अधिकारीहरूले बताएका छन् । उक्त आक्रमण मोप्ती क्षेत्रको साङ सहरनजिकै सोबामे दा भन्ने स्थानमा भएको हो । 

अरू शव खोजिँदैछ । तर अधिकारीले ९५ वटा शव भेटिएको बताएका छन् । तीमध्ये अधिकांश शव जलाइएको अवस्थामा भेटिएका थिए । मालीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति अभियानले घटना भएको स्थानमा पुनः आक्रमण नहोस् भनेर हवाई सहायता पठाएको छ । राष्ट्रसंघीय मानवाधिकार पर्यवेक्षकहरूको एउटा समूहले पनि सो नरसंहारको अनुसन्धान गर्न माली सरकारलाई सघाइरहेको छ । 

तीमध्ये केही दुई जातिबीच भएको द्वन्द्वका कारण भएका हुन् । केही आक्रमणमा जिहादी समूहहरू पनि संलग्न भएको पाइएको छ । मालीमा सिकार गर्ने डोगोन समुदाय र अर्धघुमन्ते गोठालाको फुलानी समुदाय बीच बारम्बार संघर्ष हुने गरेको छ । मालीको सरकारले ‘सन्दिग्ध आतंककारी’ले उक्त गाउँमा स्थानीय समयानुसार झण्डै ३ बजेतिर आक्रमण गरेको बताएको छ । उसका अनुसार १९ व्यक्ति अझै हराइरहेका छन् । नरसंहारको समाचार आएपछि मालीका राष्ट्रपति इब्राहिम बुबकार काइटा स्विट्जरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्कन लागेको बीबीसी अफ्रिकाले जनाएको छ । प्रतिशोधको चक्रले देश नचल्ने टिप्पणी गर्दै उनले सबै मालीवासीलाई एकताका लागि आहृवान गरेका छन् । 

बान्कास नगरका प्रमुखले समाचारसंस्था रोएटर्सलाई रात परेपछि सो क्षेत्रमा बस्ने फुलानी समुदायले सोबाने–कोऊमा आक्रमण गरेको बताएका छन् । ‘झन्डै ५० जना सशस्त्र मानिसहरू मोटरसाइकल र पिकअपमा आएका थिए,’ उक्त घटनामा बाँचेका अमादु टोगो नामक व्यक्तिले एएफफीलाई भनेका छन्, ‘पहिले उनीहरूले गाउँ घेरे अनि आक्रमण गरे। भाग्न खोज्नेहरू पनि मारिए। महिला, बालबालिका, वृद्धवृद्धा कसैलाई पनि छाडिएन ।’ कुनै पनि समूहले आधिकारिक रूपमा उक्त आक्रमणको जिम्मेवारी लिएको छैन । 

डोगोन समुदाय धेरै शताब्दीदेखि मध्य मालीमा पराम्परागत जीवनशैली अनुसरण गरेर बसोबास गर्दै आएको छ। सो समुदायका मानिसहरू एकै ठाउँमा बस्ने कृषक हुन् । फुलानी समुदायका धेरै मानिसहरू अर्धफिरन्ते गोठाला हुन् । उनीहरू विशेषतः पश्चिम अफ्रिकाको ठूलो क्षेत्रमा विचरण गर्ने गर्छन् । 


Views: 101