10th December | 2019 | Tuesday | 2:23:55 AM

सुडानमा शान्ति वार्ताका लागि दुवै पक्ष तयार

एजेन्सी   POSTED ON : जेठ ३०, २०७६ (१०:३१ AM)

सुडानमा शान्ति वार्ताका लागि दुवै पक्ष तयार

खार्तुम  । लामो राजनीतिक अन्योलमा परेको सुडानमा सहमतिका निम्ति छिट्टै पुनः वार्ता गर्न प्रदर्शनकारी र सैनिक नेतृत्व तयार भएका छन् । एक इथियोपियाली मध्यस्थकर्ताले यो जानकारी दिएका हुन् । विपक्षी गठबन्धनले नागरिक अवज्ञा र आमहडताल रोक्न सहमति जनाएको छ । 

लामो समयदेखि राष्ट्रपति रहेका ओमार अल बसिर अप्रिलमा अपदस्थ गरिएपछि सेनाले सत्ता हातमा लिएको छ । राजनीतिक बन्दीलाई रिहा गर्न सेना तयार भएको इथियोपियाका विशेष दूत मोहम्मुद दिरिरले संवाददाताहरूलाई जानकारी दिएका छन् । प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूले नागरिक सरकार पुनस्र्थापना गर्न माग गरिरहेका छन् । 

जुन महिनाको ३ तारिखमा धर्ना अन्त्य गर्न गरिएको सुरक्षा कारबाहीमा दर्जनौंको संख्यामा प्रदर्शनकारी मारिएपछि वार्ता भंग भएको थियो । त्यसपछि विपक्षीले घोषणा गरेको अनिश्चितकालीन हडतालका कारण देशका अधिकांश भाग प्रभावित भएका थिए । चिकित्सकहरूले पछिल्लो हिंसा हुँदा १ सय १८ जना मारिएको जानकारी दिएका थिए । तर, सैन्य अधिकारीहरूले भने ६१ जनाको मृत्यु भएको दाबी गरेका छन् । त्यसपछि, अधिकांश व्यवसाय ठप्प भए अनि सेनाले सुडानका सडकमा गस्ती गर्न थाल्यो ।

दुई पक्षका इथियोपियाली मध्यस्थकर्ताले नागरिक प्रशासनको पुनस्र्थापनाबारे छिट्टै वार्ता सुरु हुने बताएका थिए । उनका अनुसार विश्वासको वातावरण बनाउने उपायस्वरूप राजनीतिक बन्दीहरू रिहा गर्न सेना तयार भएको छ । विपक्षी गठबन्धन अलाएन्स फर फ्रिडम एन्ड चेन्जले बुधबार मानिसहरूलाई काममा फर्किन आग्रह गरेको छ । सैनिक नेताहरूले वार्तामा फर्किने कुरा औपचारिकरूपमा पुष्टि गर्न बाँकी छ । 

तर, संक्रमणकालीन सैन्य परिषद््का सदस्य सलाह अब्देलखालेकले बीबीसी अरेबिकलाई बताएअनुसार विपक्षीसँग समान सत्ता साझेदारीमा सहमति हुनसक्छ । यद्यपि, उनले नयाँ परिषद््को प्रमुख सेनाबाटै हुनुपर्नेमा सैन्य परिषद्् दृढ रहेको बताए । 

उनले जुन महिनाको ३ तारिखमा भएको दमनमा केही सैनिक अधिकारीहरू जिम्मेवार रहेको र अधिकृतसहित सयौं सुरक्षाकर्मी पक्राउ परेको जानकारी दिए । उक्त हिंसाको अन्तर्राष्ट्रिय अनुसन्धानको योजना अनुमोदन पनि गरिरहेको उनको भनाइ छ । तर, उनले सैन्य परिषद््ले कुनै सर्तविना छलफल गर्न चाहेको बताए । 

यसअघि मंगलबार अफ्रिकाका लागि अमेरिकाका उच्च कूटनीतिज्ञले दुवै पक्षलाई वार्ता पुनः थाल्न आग्रह गर्न सुडान भ्रमणको घोषणा गरेका थिए । गतिरोध अन्त्य गर्न दुवै पक्षसँग भेट गरेका इथियोपियाका प्रधानमन्त्रीको हस्तक्षेपपछि पुनः वार्ता हुने समचार आएको छ । उनले सेनाबाट सात र नागरिकका तर्फबाट आठ सदस्य रहनेगरी संक्रमणकालका निम्ति १५ सदस्यीय परिषद्् गठन गर्ने सुझाव दिएको कतिपय समाचारहरूमा जनाइएको छ । दुई पक्ष सँगै बस्नुअघि ६ किसिमका सर्त पूरा हुनुपर्नेमा विपक्षीको जोड छ । 

हत्याबारे अन्तर्राष्ट्रिय अनुसन्धान, सबै बन्दीको रिहाइ, इन्टरनेटको पुनः सञ्चालन, प्रेस स्वतन्त्रता, प्रदर्शन क्षेत्रमा भएको दमनको सैन्य परिषद््ले जिम्मेवारी लिनुपर्ने सर्त राखिएको छ । यी सर्तमध्ये सैन्य सत्ताले बन्दी रिहाइको मात्र वाचा गरेको छ । तर, यदि छिट्टै कुनै सहमति भयो भने पनि त्यो पुरानै वृत्तमा उही मुद्दामा घुम्नेछ । 

के सेनाले नागरिक सरकारलाई शक्ति सुम्पिनेछ ? सैनिक जनरलहरूको कदमले कुनै पनि त्यो सम्भावित सम्भावना भएको कुनै संकेत गरेको छैन । सडकमा सुरक्षा दबाब कायम रहेका बेला उनीहरूले कुनै पनि छलफललाई विपक्षीबीच विभाजन ल्याउन प्रयोग गर्ने डर छ ।


Views: 124