8th December | 2019 | Sunday | 8:35:04 AM

हङकङमा प्रदर्शन जारी, हजारौं मानिस सडकमा

एजेन्सी   POSTED ON : असार ३, २०७६ (११:०६ AM)

हङकङमा प्रदर्शन जारी, हजारौं मानिस सडकमा

हङकङ । हङकङको संसद्मा दर्ता भएको सुपुदर्गी विधेयक त्यहाँको सरकारले फिर्ता लिने घोषणा गरे पनि विधेयकको विषयलाई लिएर सुरु भएको प्रदर्शन रोकिएको छैन । अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङकङमा सडक कब्जा गरिरहेका छन् ।

विधेयकको विरोधमा आइतबार झन्डै २० लाख मानिसहरू प्रदर्शनमा सहभागी भएको आयोजकहरूले दाबी गरेका छन् । पुष्टि भएमा त्यो हङकङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ । तर, प्रहरीका अनुसार आइतबारको प्रदर्शनमा झन्डै साढे तीन लाख प्रदर्शनकारी मात्र थिए । हङकङका अभियुक्तलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा सुपुर्दगी गर्न सकिने व्यवस्था गरिएको विधेयकका कारण तनाव बढेको हो । आइतबार ठूलो प्रदर्शन भएपछि थुप्रै प्रदर्शनकारीहरूले सडकमै रात बिताएका थिए । उनीहरूले सडकमा छेकबार पनि लगाएको विवरण प्राप्त भएको छ । तर, त्यहाँको वातावरण शान्त रहेको र प्रहरीको संख्या पनि पातलो रहेको बताइएको छ ।

प्रदर्शन चर्किएपछि हङकङका अधिकारीहरूले सुपुर्दगी विधेयकलाई स्थगन गरिदिएका छन् । तर, त्यो पूरै फिर्ता लिइनुपर्ने प्रदर्शनकारीहरूको अडान छ । ‘आइतबारको प्रदर्शनमा झन्डै २० लाख मानिस सहभागी भएका छन्’, सिभिल हृयुमन राइट्स् फ्रन्टका नेता जिमी शामले संवाददाताहरूलाई बताए । आइतबारको प्रदर्शन केही दिनअघिको भन्दा शान्त थियो । बुधबार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही मानिस घाइते भएका थिए । शनिबार लडेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो । उनको सम्मानमा धेरै प्रदर्शनकारीहरूले सेतो पूmल बोकेका थिए । रात परेपछि प्रदर्शनकारीहरूले विधायन परिषद् जाने सडकहरूमा अवरोध तेस्र्याउन थालेका थिए । 

हङकङकी नेत्री क्यारी लामले आइतबार विधेयक प्रस्ताव गरिएकोमा क्षमायाचना गरेकी थिइन् । तर, हङकङमा चिनियाँ प्रभाव बढ्ने चिन्ता व्यक्त गरिरहेका प्रदर्शनकारीहरू उनले राजीनामा दिनुपर्ने बताउँछन् । एक ६७ वर्षीय प्रदर्शनकारी माले भने, ‘क्यारी लामले हङकङवासीका इच्छा आकांक्षालाई बेवास्ता गरिरहेकी छन् ।’ कुनै बेला बेलायत अधीनस्त रहेको हङकङ चीनलाई फिर्ता गरिँदा उसको स्वतन्त्रताका विषयमा केही सर्तहरू राखिएको थियो । सोही सर्तअनुसार हङकङमा एक देश दुई प्रणालीको नीति अपनाइएको छ । तर, पछिल्ला दिनहरूमा चिनियाँ प्रभाव बढेको र हङकङको स्वतन्त्रता संकुचनमा परेको बताइन्छ । यसैबीच पाँच वर्षअघि आयोजित ‘छाता आन्दोलन’ का अगुवा विद्यार्थी नेता जोसुवा वोङ सोमबार थुनामुक्त भएका छन् । उनले पनि क्यारी नामको राजीनामा माग गरेका छन् ।


Views: 117