10th December | 2019 | Tuesday | 3:52:01 AM

इरान–अमेरिका तनाव, इरानी हतियार प्रणालीमा साइबर आक्रमण

बीबीसी   POSTED ON : असार ९, २०७६ (१०:२१ AM)

इरान–अमेरिका तनाव, इरानी हतियार प्रणालीमा साइबर आक्रमण

तेहरान  । अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर आक्रमण सुरु गरेको छ । केही अमेरिकी रिपोर्ट्समा हवाई आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि हतियार प्रणालीविरुद्ध साइबर आक्रमण सुरु गरिएको दाबी गरिएको छ । वासिंटन पोष्टका अनुसार रकेट र मिसाइल सिष्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । न्यूयोर्क टाइम्सका अनुसार तेल ट्यांकरमाथि आक्रमण र त्यसपछि अमेरिकी हवाई ड्रोनलाई खसालेपछि अमेरिकाले इरानविरुद्ध नयाँ कदम उठाएको हो । 

साइबर आक्रमण केही हप्तासम्म जारी रहने बताइएको छ । यसको उद्देश्य इरानको त्यो हतियार प्रणालीलाई निशाना बनाउनु हो जसको प्रयोग इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्सले गर्दै आएको छ । यो आक्रमणपछि यो प्रणालीमा अनलाइनमा काम गर्न सम्भव हुँदैन । र, यसको प्रयोग अफलाइनमात्रै हुन्छ ।

यद्यपि शनिबार अमेरिकी गृह सुरक्षा विभागले इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण तीव्र पारेको चेतावनी दिएको थियो । त्यसबाहेक राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि झन् कडा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । उक्त प्रतिबन्ध इरानले आफ्नो व्यवहार नसच्याएसम्म जारी रहने बताएका थिए । उनले पत्रकारसँग भनेका थिए, ‘हामी केही अरू प्रतिबन्ध लगाउँदैछौं । केही विषय त निकै तीव्र रूपमा ।’ ट्रम्पको यस्तो अभिव्यक्ति त्यतिबेला आएको छ जतिबेला इरानले आफ्नो परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरसम्म तय गरिएको सीमाभन्दा पनि अगाडि बढाउने घोषणा गरेको थियो ।

२०१५ को परमाणु सम्झौताअनुसार इरानको युरोनियम प्रशोधनका विषयमा सीमा तय गरिएको थियो । त्यसको बदलामा इरानमाथि लगाइएको केही प्रतिबन्ध हटाइएको थियो । र इरानको तेल निर्यात गर्न अनुमति दिइएको थियो, जो इरान सरकारको आम्दानीको मुख्य स्रोत हो । तर अमेरिकाले आफूलाई उक्त सम्झौताबाट बाहिर निकालेर इरानमाथि पुन प्रतिबन्ध लगाएको थियो । यसले इरानको अर्थव्यवस्था प्रभावित हुन थाल्यो ।

यसैबीच चिनियाँ समाचार एजेन्सी सिन्हृवाका अनुसार इराकका विदेशमन्त्री मोहम्मद अल हकिम र फ्रान्सका समकक्षी जेन यभेस लि ड्रियनबीच टेलिफोन कुराकानी भएको छ । अमेरिका र इरानबीचको बढ्दो तिक्ततासहित क्षेत्रीय तनाव र दुई पक्षीय हितका अन्य विषयका बारेमा कुराकानी भएको अधिकारीले जनाएका छन् । इराकको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उनीहरूबीच शनिबार कुराकानी भएको उल्लेख छ ।

फ्रान्सका विदेश मन्त्री ड्रियनले हकिमलाई फोन गरेका हुन् । उनीहरूले आपसी सम्बन्ध बाहेक पछिल्लो विविध अवस्थाका बारेमा छलफल गरेको वक्तव्यमा उल्लेख छ ।


Views: 116