10th December | 2019 | Tuesday | 2:05:07 AM

किमलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र

रासस/सिन्हृवा   POSTED ON : असार ९, २०७६ (१०:२३ AM)

किमलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र

प्योङ्याङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्यूज एजेन्सीले आइतबार जनाएनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन् । 

पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टि जनाएको पनि समाचारमा उल्लेख गरिएको छ । उनले भनेका छन्, ‘पत्रमा गज्जबको विषयवस्तु लेखिएको छ ।’ किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढंगले सोचविचार गर्ने आशय व्यक्त गरेको बताइएको छ । उनले पत्रमा के विषयवस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ । त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन । त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन । 

गत फेब्रुवरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक विना कुनै निष्कर्ष टुंगिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ । उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नुपर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा हुनुपर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो । 


Views: 109