19th October | 2019 | Saturday | 7:31:53 AM

भेनेजुएलाबारे बार्बेडोस वार्ताप्रति मादुरो आशावादी

एजेन्सी   POSTED ON : असार २५, २०७६ (११:५२ AM)

भेनेजुएलाबारे बार्बेडोस वार्ताप्रति मादुरो आशावादी

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार बार्बेडोसमा सुरु भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ बनेको बताएका छन् । यसै वर्षको जनवरीमा भेनेजुएलाका राष्ट्रियसभाका अध्यक्ष हुआँ गुएइदोले आफू देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राष्ट्रपति मदुरोमाथि प्रत्यक्ष चुनौती खडा भएको थियो । प्रतिपक्षी दलका नेता गुएइदोको घोषणालाई संयुक्त राज्य अमेरिकाले तत्काल समर्थन गरेको थियो भने 

युरोपेली केही मुलुकसहित विभिन्न ५० मुलुकले अमेरिकी निर्णयलाई पछ्याएका थिए । भेनेजुएलाका राष्ट्रपति निर्वाचनबाट जनमत प्राप्त अधिकारी भएको भन्दै रूस, चीन र क्युवाले समाजवादी नेता मदुरोलाई दह्रो साथ दिएका थिए, जसका कारण मदुरो सरकारलाई आन्दोलनको बलमा सत्ताबाट हटाउने प्रतिपक्षीको चाहना विफल बनेको थियो । सरकार र प्रतिपक्षी दलका प्रतिनिधिबीच वार्ताको वातावरण निर्माण गर्न नर्वेको ओस्लोमा भएका छलफलपछि दुवै पक्षका प्रतिनिधि औपचारिक वार्तामा सहभागि बन्न बार्बेडोस पुगेका छन् । 

सोमबार भएको वार्तापछि राष्ट्रपति मदुरोले राज्य सञ्चालित टेलिभिजन भिटीभीमार्फत गरेको सम्बोधनमा भने, ‘म निकै नै आशावादी छु । सोमबार वार्ताटोलीले करिब पाँच घण्टा छलफल गरेको छ । मलाई लाग्छ, एकपछि अर्को गर्दै हुने छलफल र रणनीतिक धैर्यबाट हामीले शान्तिको बाटो खोज्न सक्छौं ।’

‘वार्ता टोलीले मुलुकका सम्पूर्ण हितलाई ध्यानमा राख्दै विभिन्न ६ बुँदामा छलफल गरिरेको छ’, राष्ट्रपतिले थपे । तर छलफलका ती ६ बुँदा के के रहेका छन् भन्नेबारे भने उनले केही बताएनन् । राष्ट्रपति मदुरोले भेनेजुएलाको संकटमा अमेरिकाले प्रतिपक्षीलाई उत्तेजित पारेको आरोप लगाउँदै उनले भने, ‘यदि प्रतिपक्षीले सद्भावका साथ छलफलमा सहभागी हुने र अमेरिकी हस्तक्षेपवाद हावी नहुने हो भने म ढुक्क छु हामी सहमतिमा पुग्नेछौं ।’ 

बार्बेडोसमा भइरहेको वार्ता ओस्लोमा गत मेमा भएको छलफलपछिको तेस्रो चरणको वार्ता हुनेछ । प्रतिपक्षी नेता गुएइदोले गत मंगलबार मदुरोसँग पुनः वार्ता गर्ने योजना नरहेको दाबी गरेपनि सोमबार लामो समयसम्म दुवै पक्षका बुँदामा केन्द्रित बनेर छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् । प्रतिपक्षी समूहको सहयोगी मानिएका नौसेनाका अवकास प्राप्त उच्च अधिकारी राफेल अकोष्टा अरेभालोको शंकास्पद मृत्युले प्रतिपक्षी तथा अमेरिका तथा युरोपेली मुलुक राष्ट्रपति मदुरोप्रति थप आक्रोशित बनेका थिए ।


Views: 107