19th October | 2019 | Saturday | 7:42:02 AM

अमेरिका र चीनबीच व्यापार वार्ता फेरि सुरु

  POSTED ON : असार २६, २०७६ (९:३७ AM)

अमेरिका र चीनबीच व्यापार वार्ता फेरि सुरु

वासिंगटन । संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ । दुवै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुभ्mदो समाधानका लागि वार्ताको पहल सुरु भएको हो । अमेरिकाले चीनमाथि थप सामग्रीमा कर वृद्धि गर्ने घोषणा गरेसँगै दुवै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो । अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोधस्वरूप कतिपय अमेरिकी सामानमा कर वृद्धि गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अबरुद्ध व्यापार वार्ता पुनःथालनी गर्ने विषयमा सहमति भएको थियो । विश्वका २० औद्योगिक राष्ट्रको शिखर सम्मेलन (जी–२०) बैठकमा सहभागी हुन जापानको ओसाकामा रहँदा दुवै नेताबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिउ हे र वाणिज्य मन्त्री झोङ सानसँग मंगलबार टेलिफोनबाट कुराकानी गरेका थिए । हृवाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददातासँग कुरा गर्दै वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिएका छन् । 

अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिएको अन्तर्वार्तामा कुडलोले दुवै देशका उच्च व्यापार मध्यस्थकर्ताबीच भएको वार्ता प्रारम्भिक रहेको बताउँदै दुवै पक्षबीच सायद तत्कालै बैठकको आयोजना हुने बताइएको छ । उनले चीनले जतिसक्दो चाँडो अमेरिकी कृषि उत्पादन खरिद गर्न थालेलगत्तै सम्भवतः वार्ता पनि सुचारु हुने बताए ।

चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको संक्षिप्त वक्तव्यमा ओसाकामा दुवै राष्ट्रपतिबीच भएका विचार आदानप्रदानकै सेरोफेरोमा सहमति खोजिने उल्लेख छ । अमेरिका र चीनले एक अर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशतसम्म कर वृद्धि गरेका छन् ।


Views: 142