25th August | 2019 | Sunday | 6:47:47 PM

भारत–पाकिस्तान सम्बन्ध थप तनावपूर्ण

एजेन्सी   POSTED ON : श्रावण २३, २०७६ (८:०५ AM)

भारत–पाकिस्तान सम्बन्ध थप तनावपूर्ण

इस्लामावाद । भारतले जम्मु कश्मीरलाई विशेष दर्जा दिने व्यवस्था खारेज गरेसँगै भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण भएको छ । भारतले जम्मु कश्मीरमाथिको विशेषाधिकार हटाएको घोषणा गरेपछि प्रतिक्रियात्मक कारबाहीस्वरूप पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोडेको छ ।

भारतीय संविधानअनुसार जम्मु कश्मीरलाई दिइएको विशेषाधिकारलाई भारतले सोमबार खारेज गरेको थियो । भारतीय संविधानको धारा ३७० लाई खारेज गर्दै भारतले जम्मु कश्मीरलाई विभाजन गरेर केन्द्र शासित दुई प्रदेश बनाएको छ । भारतले जम्मु कश्मीरबाट लद्दाखलाई अलग गरेर दुई केन्द्र शासित प्रदेश बनाएको हो । 

भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा यो विषयमा जानकारी दिँदै पाकिस्तानको कब्जामा रहेको कश्मीरमा पनि नयाँ प्रावधान लागू हुने बताएका थिए । बुधबार भारतले देशको नयाँ नक्सासमेत सार्वजनिक गरेको छ, जसमा पाकिस्तान कब्जामा रहेको कश्मीर पनि समेटिएको छ ।

भारतले एकतर्फी रूपमा यस्तो कदम चालेपछि बुधबार पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोडुदै कूटनीतिक सम्बन्धमा पनि कटौती गरेको हो । पाकिस्तानी सुरक्षा समितिको बैठकपछि बुधबार भारतसँगको व्यापार सम्बन्ध तोड्ने घोषणा पाकिस्तानले गरेको हो । पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धमा पनि समीक्षा गर्ने जनाएको छ । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको उपस्थितिमा बसेको बैठकले ‘कश्मीरको स्वायत्ततामाथि भारत सरकारका तर्फबाट एकतर्फी र गैरकानुनी कारबाही भएपछि उत्पन्न परिस्थितिमाथि गम्भीर छलफल गरेको’ पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै पाकिस्तानी विदेशमन्त्री शाह मोहमम्द कुरैसीले भने, ‘दिल्लीस्थित पाकिस्तानी राजदूतलाई हामी चाँडै फिर्ता बोलाउँदैछौं, इस्लामावादबाट पनि भारतीय राजदूतलाई पठाउनेछौं ।’

कश्मीर मामिलालाई पाकिस्तानले राष्ट्रसंघमा पु¥याउने भएको छ । यसका साथै बैठकले पाकिस्तानको स्वतन्त्रता दिवस (१४ अगस्ट) लाई कश्मीरी नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै मनाइने र भारतको स्वतन्त्रता दिवस (१५ अगस्ट)लाई ‘कालो दिन’का रूपमा मनाउने निर्णयसमेत गरेको पाकिस्तानी विदेशमन्त्रीको भनाइ छ । 

बैठकमा पाकिस्तानी प्रधानमन्त्री खानले मानव अधिकार उल्लंघनको सवालमा भारतविरुद्ध सबै कूटनीतिक च्यानल प्रयोग गर्न निर्देशन दिएको र सेनालाई पनि सतर्क रहन भनेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार नै पाकिस्तानी संसद्को दुवै सदनको संयुक्त बैठकमा कश्मीरमा उत्पन्न परिस्थितिका बारेमा छलफल भएको थियो । बैठकमा पाकिस्तानका मानव अधिकार मन्त्री शिरिन मजारीले कश्मीरका बारेमा भारत सरकारले गरिरहेको काम ‘कुनै पनि धूर्त सरकारको युद्ध अपराधजस्तै’ भएको बताए । भारतको पछिल्लो कदम कश्मीरलाई विवादित क्षेत्र घोषित गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावको ठाडो उल्लंघन भएको आरोप लगाए । 


Views: 60