6th December | 2019 | Friday | 6:13:36 AM

सोनिया गान्धी कंग्रेस अध्यक्ष

एजेन्सी   POSTED ON : श्रावण २७, २०७६ (१०:५४ AM)

सोनिया गान्धी कंग्रेस अध्यक्ष

नयाँदिल्ली । हालै सम्पन्न आमनिर्वाचनमा नराम्रो पराजय भोगेपछि भारतको सबैभन्दा पूरानो दल कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएपछि सुरु भएको नयाँ अध्यक्षको खोजी शनिबार समाप्त भएको छ । 

शनिबार कंग्रेस केन्द्रीय कार्यासमितिको बैठकले राहुलकी आमा पूर्वअध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षमा चयन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राहुलको राजीनामापछि नेहरू–गान्धी परिवार बाहिरबाट अध्यक्ष बनाइने चर्चा चले पनि सोनियालाई पार्टीको नेतृत्प सुम्पिएको हो । 

सोनिया यसअघि पनि पार्टी खराब स्थितिमा भएपछि १९९८ मा कंग्रेसको अध्यक्ष बनेकी थिइन् । सोनियाले लगातार २०१७ सम्म कंग्रेसको नेतृत्व गरेकी थिइन् । उनको समयमा नाजुक अवस्थामा रहेको कंग्रेसले सत्तामा पुनरागमन गरेको थियो । डा. मनमोहन सिंह लगातार १० वर्षसम्म प्रधानमन्त्री बनेका थिए । २०१४ मा भएको आमनिर्वाचनमा कंग्रेस पराजित हुँदा पनि सोनिया अध्यक्ष थिइन् । सो चुनाव यता कंग्रेसको अवस्था झन् खराब हुँदै गएको छ । 

सबैभन्दा लामो समय अध्यक्ष रहेकी सोनियाले २०१७ मा पद त्याग गरेकी थिइन् । त्यसपछि उनका छोरा राहुल अध्यक्ष बनेका थिए । तर, लोकसभा निर्वाचनमा पार्टीले खराब प्रदर्शन गरेपछि राहुलले नैतिक जिम्मेवारी लिँदै गएको मे २५ मा अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका थिए । यद्यपि राहुललाई आफ्नो राजीनामा फिर्ता लिए सोही दिनदेखि गरिएको प्रयास शनिबारसम्म जारी रहृयो । 

शनिबार पनि राहुललाई अध्यक्षबाट राजीनामा नदिन कंग्रेस नेताहरूले आग्रह गरेका थिए । तर, राहुल राजीनामाको आफ्नो धारणामा अडिग रहे । भारतमा सबैभन्दा लामो समय शासन गरेको कंग्रेस इतिहासकै कमजोर अवस्थामा रहेको बेला सोनियाँ गान्धी फेरि कंग्रेसको अध्यक्ष बनेकी छन् ।


Views: 71