25th August | 2019 | Sunday | 6:24:05 PM

इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति

रासस/सिन्हृवा   POSTED ON : श्रावण २९, २०७६ (१०:३१ AM)

इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ । इथियोपियास्थित चिनियाँ वाणिज्य दूत लिउ युले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी सहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए । यो परियोजना सन् २०१९ भित्रै निर्माण सुरु गर्ने तयारी भइरहेको उनले बताए । 

लिउका अनुसार औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक रकममध्ये ८५ प्रतिशत चीनले इथियोपियालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनेछ । बाँकी १५ प्रतिशत इथियोपिया सरकारले व्यहोर्ने छ ।

त्यस औद्योगिक क्षेत्रमा खासगरी विभिन्न औद्योगिक सामग्री उत्पादन गर्ने कारखाना रहनेछन् । लिउका अनुसार जमिनको व्यवस्था गर्ने तथा लगानीसँग सम्बन्धित कार्यविधि टुङ्गो लागिसकेको छ । अदामा सहरमा यो दोस्रो औद्योगिक क्षेत्र हो । चिनियाँ लगानी र दक्षता प्रयोग भइरहेको अदामा पछिल्ला केही वर्षदेखि प्रमुख व्यापारिक केन्द्र बन्दै गएको छ । 

अदामा सहरमा यसअघि निर्माण गरिएको पहिलो औद्योगिक क्षेत्र पनि चिनियाँ सहयोगमै तयार भएको हो । इथियोपियाली प्रधानमन्त्री अबिए अहमदले गत वर्ष अक्टोबरमा त्यस औद्योगिक क्षेत्रको उदघाटन गरेका थिए । त्यो औद्योगिक क्षेत्र १४ करोड ६० लाख डलरको लागतमा निर्माण भएको थियो । हाल निर्माणको क्रममा रहेको दोस्रो औद्योगिक क्षेत्र करिब सय हेक्टरमा फैलिएको छ । त्यस औद्योगिक क्षेत्रमा करिब २५ हजार इथियोपियाली नागरिकले रोजगारी प्राप्त गर्न सक्नेछन् । सन् २०२५ सम्ममा इथियोपियालाई औद्योगिक राष्ट्र बनाउने अभियानलाई उक्त परियोजनाले ठूलो मद्दत गर्नेछ ।


Views: 52