21st February | 2020 | Friday | 1:04:08 PM

आलोचक पक्राउ परेपछि मलेशियाकी महारानी दुःखी

एजेन्सी   POSTED ON : भदौ ३०, २०७६ (११:१९ AM)

आलोचक पक्राउ परेपछि मलेशियाकी महारानी दुःखी

क्वाललम्पुर । मलेशियाकी महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दुःख व्यक्त गरेकी छन् । ट्वीटरमा एउटा सन्देश लेख्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशियाका राजाले प्रहरीलाई कारबाही गर्न नभनेको र पक्राउसम्बन्धी समाचारले आफू दुःखी भएको जनाएकी छन् ।  

सामाजिक सञ्जालमा अपमानजनक सन्देश प्रेषित गरेको आरोपमा शुक्रबार प्रहरीले पश्चिमी नगर क्लाङबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो । महारानीले बुधवार आफ्नो ट्वीटर खाता बन्द गरेको भन्ठानिएको थियो । त्यसपछि हजारौँ मानिसले उनलाई आफ्नो खाता बन्द नगर्न र सन्देश लेखिरहन आग्रह गरेका थिए । मलेशियाकी महारानीलाई राजा परमिस्सुरी आगोङ भनिन्छ । 

अहिलेकी महारानीको पूरा नाम टुंकु अजिजा अमिना मैमुना इस्कन्दरिया सुल्तान इस्कन्दर हो । उनी वर्तमान महाराजाकी पत्नी हुन् । मलेशियामा भिन्न प्रकृतिको संवैधानिक राजतन्त्र छ । देशका विभिन्न वंशका नौ शासकहरू पालैपालो पाँच वर्षका लागि देशको राजा बन्छन् । शृंखलाबद्ध ट्वीट गर्दै उनले व्यक्तिगत कारणले आफूले ट्वीटर छोड्न लागेको लेखेकी थिइन् । ‘प्रहरीले ती मानिसलाई नियन्त्रणमा लिएकाले म साँच्चै दुःखी छु । यत्रो वर्ष म र मेरा पतिले कहिल्यै पनि हामीबारे नराम्रो कुरा गर्दा पनि प्रहरीमा उजुरी गरेनौँ,’ उनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ । 

‘यो स्वतन्त्र राष्ट्र हो,’ उनले भनिन् । उनका अनुसार आलोचकहरूलाई पक्राउ गरिएको थाहा पाएपछि उनी दुखित र आक्रोशित भइन् र पुनः ट्वीटर चलाउन थालेकी हुन् । उनले भनेकी छन्, ‘म आफैँले दरबारलाई प्रहरीलाई कुनै कारबाही नगर्न सूचित गर्न भनेँ । म फेरि पनि भन्छु ( मैले उनीहरूका कारण मेरो खाता बन्द गरेकी थिइनँ । मेरा पति र मैले कहिल्यै पनि प्रहरीमा उजुरी गरेका छैनौँ, अनि म कहिल्यै पनि मबारे लेखिएका प्रतिक्रिया पढेर दुःखी भएकी छैन । बरु म हाँसेकी छु किन भने अल्लाहलाई म को हुँ भन्ने थाहा छ ।’ 

शुक्रबार राति पार्टी सोसियालिस मलेशिया नामक दलका एक सदस्यलाई महारानीबारे अपमानजनक सन्देशहरू लेखेको आरोपमा समातिएको थियो । उनको नाम खालिद इस्माथ भएको बताइएको छ । उनलाई जुन कानुनका आधारमा पक्राउ गरिएको थियो त्यसको प्रतिपक्षी दल र मानवाधिकारवादी समूहले लामो समयदेखि आलोचना गर्दै आएका छन् । शनिबार धरौटीमा रिहा हुनुअघि इस्माथलाई प्रहरी चौकीमा एक रात राखियो । मानवाधिकारकर्मी तथा राजनीतिकर्मीहरूले प्रहरीले अनावश्यक हस्तक्षेप र दुव्र्यवहार गरेको बताएका छन् । इस्माथले आफूले महारानीको अपमान नगरेको दाबी गरेका छन् । 

ट्वीटरमा पुनः आउनुअघि रानीले आफूले व्यक्तिगत कारणले ट्वीटर खाता बन्द गरेको सन्देश इन्स्टाग्राममा लेखेकी थिइन् । उनले मानिसहरूलाई सामाजिक सञ्जालमा लेख्दैमा प्रहरीमा उजुरी नगर्न आग्रह गरिन् । उनको इन्स्टाग्राम पोस्टलाई उनकी छोरीले ट्वीटरमा प्रेषित गरेकी थिइन् । गत अगस्ट ३१ मा आयोजित मलेशियाको स्वतन्त्रता दिवसका अवसरमा धेरै तस्बिर खिचेको भन्दै सामाजिक सञ्जालमा महारानीको आलोचना भएको थियो । मलेशिया स्टार पत्रिकाका अनुसार केहीले उनले ‘बच्चाको जस्तो व्यवहार गरेको’ टिप्पणी गरेका थिए । तर उनले राजाले आफूलाई तस्बिर खिच्न भनेको प्रतिक्रिया दिएकी थिइन् ।


Views: 98