19th October | 2019 | Saturday | 9:28:41 PM

हृवाइट हाउसद्वारा फोन वार्ताको पहुँचमा कटौती

एजेन्सी   POSTED ON : आश्विन १३, २०७६ (९:४९ AM)

हृवाइट हाउसद्वारा फोन वार्ताको पहुँचमा कटौती

वसिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्य राष्ट्रका नेताहरूसँग गरेको फोनवार्ताको टिपोटमा हृवाइट हाउसले पहुँच कटौती गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानजस्ता नेतासँग ट्रम्पले फोनमा गरेको कुराकानीको विवरण नियमित तरिकाले राखिएको छैन ।

उनीहरूका अनुसार सूचना नचुहियोस् भनेर ट्रम्पका सहयोगीहरूले ती टिपोटहरू जसले पायो त्यसले हेर्न नमिल्नेगरी राखेका छन् । युक्रेनका राष्ट्रपतिसँग ट्रम्पले गरेको कुराकानी आपत्तिजनक भएको भन्दै उजुरी परेपछि विपक्षी डेमक्र्याटिक दलले ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरिसकेको छ । त्यसपछि सार्वजनिक भएका यी दाबीबारे हृवाइट हाउसले कुनै टिप्पणी गरेको छैन । 

आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक दलबाट उम्मेदवार बन्ने अनुमान गरिएका जो बाइडनविरुद्ध ट्रम्पले युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएको आरोप लागेको छ । ह्वाइट हाउसले पछि सार्वजनिक गरेको वार्ताको लिखित प्रतिलिपिमा त्यसलाई पुष्टि गर्ने आधार देखिएको छ । डेमक्र्याटिक सांसदहरूले ट्रम्पविरुद्ध संसदीय समितिमै अनुसन्धान सुरु गराएका छन् ।

हृवाइट हाउसले शुक्रबार उक्त फोनवार्ताको टिपोट अतिगोप्य सूचना भएकाले छुट्टै प्रणालीमा राखिएको पुष्टि गरेको थियो । विभिन्न अमेरिकी सञ्चारमाध्यमले उद्धृत गरेका अधिकारीका अनुसार राष्ट्रपतिले विदेशी नेताहरूसँग गरेका केही फोनवार्ताको टिपोट हेर्न नदिने नीति एक वर्षभन्दा अघिदेखि सुरु भएको हो । सन् २०१७ मा ट्रम्प र अष्ट्रेलियाका तात्कालीन प्रधानमन्त्री माल्कम टर्नबुलबीच भएको संवाद सार्वजनिक भएपछि नेताहरूको वार्ताको विवरण चुहिन नदिन हृवाइट हाउटका अधिकारीले त्यस्तो निर्णय गरेका थिए । हृसका विदेशमन्त्रीसँग भएको कुराकानीको विवरण पनि समाचारमा आएपछि झन् कडाइ गरियो । 

त्यसपछि फोनवार्ताको टिपोटको प्रतिलिपि दिइने व्यक्तिको संख्या पनि घटाइयो तथा केही फोनवार्ताका विवरण गोप्य सूचना भण्डारण गर्ने विशेष प्रणालीमा छुट्टै राख्न थालियो । उक्त प्रणाली विदेशमा गरिने गुप्तचरी र गुप्त अभियानबारे सूचना राख्न छुट्याइएको हो । नियमित प्रणालीमा जस्तो त्यसमा न्याश्नल सिक्युरिटी काउन्सिलका अधिकारीको पहुँच हुँदैन । 

उदाहरणका लागि राष्ट्रपतिको फोनवार्ताको टिपोटको प्रतिलिपि प्रायः हेर्न पाउने सहयोगी र अधिकारीले ट्रम्प र साउदी युवराज तथा साउदी राजपरिवारका अन्य सदस्यबीच के कुरा भएको थियो त्यसको विवरण हेर्न पाएनन् । न्यूयोर्क टाइम्सका अनुसार साउदी पत्रकार जमाल खशोग्जीको गत वर्ष हत्या भएपछि साउदी युवराजले ट्रम्पलाई फोन गरेका थिए । एक अधिकारीले उक्त पत्रिकालाई राष्ट्रपति अनुचित काममा संलग्न भएको कुनै प्रमाण नभएको बताएका थिए । 

रूसी राष्ट्रपति पुटिनसँग भएको कम्तीमा एउटा फोनवार्ताको टिपोट पनि सामान्य प्रणालीमा राखिएको छैन । तर ती फोनका टिपोटहरू विशेष प्रणालीमा राखिएको छ कि छैन भन्ने स्पष्ट छैन । 

जुलाई २५ मा भएको ट्रम्प–जेलोन्स्की संवादबारे संसदीय समितिले छानबिन गर्दैछ । गत महिना दर्ता गरिएको एउटा उजुरीमा अमेरिकी गुप्तचर निकायभित्रकै एक गोप्य सूचनादाताले राष्ट्रपतिले आफ्नो पदीय शक्ति प्रयोग गरेर सन् २०२० को निर्वाचनमा विदेशी हस्तक्षेप निम्त्याएको बेहोरा उल्लेख गरेका थिए । त्यसैले यो अतिमहŒवको विषय भएको उनको दाबी थियो । डेमोक्र्याट नेत्री तथा तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी राष्ट्पति उत्तरदायी हुनुपर्ने बताउँछिन् । 

ट्रम्प–जेलोन्स्की संवादबारे हृवाइट हाउसले सार्वजनिक गरेको टिपोटको खेस्रामा ट्रम्पले नवनियुक्त युक्रेनी राष्ट्रपतिलाई जो बाइडन र उनका छोरा हन्टर बाइडनविरुद्ध लागेको भ्रष्टाचारको आरोपको छानविन गर्न आग्रह गरेको देखिन्छ । जुलाईमा ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता रोकिदिएका थिए । त्यही बेला उनले युक्रेनी समकक्षीसँग बाइडन बावुछोरासँग सम्बन्धित कुरा गरे । तर उनले युक्रेनलाई दबाब दिन त्यसो नगरेको दाबी गरेका छन् । डेमोक्र्याटले ट्रम्पले बाइडनलाई बदनाम गर्न अवैधानिक रूपमा विदेशी सहयोग लिन खोजेको आरोप लगाएका छन् । जो बाइडन राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उम्मेदवारहरूको अग्रपंतिमा छन् । 

राष्ट्रपति ट्रम्पले कुनै गलत काम नगरेको भन्दै आफूविरुद्ध लगाइएका आरोपहरू जाली भएको दाबी गरेका छन् । उनले तिनलाई आफूलाई हतोत्साहित बनाउने दुराशय को संज्ञा दिएका छन् । शुक्रवार संसदीय समितिहरूले विदेशमन्त्री माइक पोम्पिओलाई सरकारले युक्रेनसम्बन्धी विषय र दस्ताबेजको विषयमा आफैं उपस्थित भएर जानकारी दिन निर्देशन दिएका छन् । सोही दिन युक्रेनका लागि अमेरिकाका विशेषदूत कर्ट भोल्करले राजीनामा दिएका छन् । 

अमेरिकी संविधानअनुसार ‘देशद्रोह, घुसखोरी वा अन्य ठूला अपराध र मिस्डिमीनर भनिने अलि कम गम्भीर प्रकृतिको अपराधमा’ राष्ट्रपतिलाई महाभियोग लगाउन मिल्छ । संसद्का दुवै सदनबाट महाभियोग पारित भए राष्ट्रपति पदमुक्त हुन्छन् । कंग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुनः निर्वाचित हुन खोजेका हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित हुनेछ । तल्लो सदनकी डेमोक्र्याटिक नेत्री तथा सभामुख न्यान्सी पेलोसीले ट्रम्पले गरेको काम पदीय गरिमाको उल्लंघन भएको भन्दै भनिन्, ‘कानुनभन्दा माथि कोही पनि छैन ।’


Views: 103