19th October | 2019 | Saturday | 8:55:37 PM

संसदद्वारा राष्ट्रपति निलम्बित

(रासस/एएफपी)   POSTED ON : आश्विन १५, २०७६ (११:२१ AM)

संसदद्वारा राष्ट्रपति निलम्बित

लिमा  । पेरूका राष्ट्रपति मार्टिन भिजकाराले संसद विघटन गरी ताजा निर्वाचनका लागि आहृवान गरेका छन् । पेरूमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भंगको घोषणा गरेका हुन । 

राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसदको आलोचना गरिरहेका थिए । यी दुई विषयलाई लिएर राष्ट्रपति र संसदबीच लामो समयदेखि विवाद र असमझदारी रहेको छ ।

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेको केहीपछि नै संसदले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्नेगरी मतदान गरेको थियो । राष्ट्रपतिमा ‘नैतिक अक्षमता’ रहेको भन्दै संसदले उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुखमा मनोनयन गरेको छ ।

संसदका सभामुख पेड्रो ओलेचाले संसदको बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति भिजकारालाई पदबाट हटाउने जानकारी दिए । विपक्षी सांसद जोर्ज डेल कास्टिल्लोले भने, ‘हामी अहिले सत्ताविद्रोहको अवस्थामा छौं ।’ मुलुकको सशस्त्र फौज र प्रहरी राजनीतिकर्मीको यस खेलबाट टाढै रहने मेरो विश्वास रहेको उनले बताए । यो घटना पनि पेरूमा वर्षौंदेखि जारी राजनीतिक विवादकै एक शृंखलाका रूपमा देखिएको विश्लेषकले टिप्पणी गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भिजकाराले संसदसँग पटकपटक संघर्ष गरेका थिए । संसदमा केइकी फुजिमोरी नेतृत्वको पपुलर फोर्स पार्टी बहुमतमा रहेको छ । केइकी फुजिमोरी आफैं पनि भ्रष्टाचारको आरोपमा जेलमा रहेकी छन् । 


Views: 88