18th January | 2020 | Saturday | 6:39:40 PM

कोइलामाथिको निर्भरता घटाउन एसियाली मुलुकलाई चेतावनी

एजेन्सी   POSTED ON : कार्तिक १८, २०७६ (११:०१ AM)

कोइलामाथिको निर्भरता घटाउन एसियाली मुलुकलाई चेतावनी

बैंकक । संयुक्त राष्ट्रसंघका प्रमुखले जलवायु परिवर्तनको समस्यासँग जुझ्नका लागि एसियाले कोइलासँगको आफ्नो निर्भरता त्याग्नुपर्ने भन्दै सचेत गराएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एण्टेनियो गुटेरसले एसिया क्षेत्र विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा खतरामा रहेको र त्यसलाई रोक्ने प्रयासमा एसिया ‘अग्रमोर्चा’ मा हुनुपर्ने बताएका हुन् । 

जलवायुसँग सम्बन्धित बाढीको जोखिममा खासगरी एसियाली मुलुकहरू रहेको एउटा अध्ययनले देखाएको उद्धृत गर्दै उनले यस्तो बताएका हुन् । धेरै एसियाली देशहरूमा उर्जाको मुख्य स्रोत नै कोइला हो । 

थाइल्याण्डको राजधानी बैंककमा शनिबार पत्रकारहरूसँग बोल्दै गुटेरसले जलवायु परिवर्तनलाई ‘हाम्रो समयको अति महŒवपूर्ण मुद्दा’ भनी व्याख्या गरेका छन् । गत मंगलबार प्रकाशित एउटा अध्ययनले जलवायु परिवर्तनका कारण हुने समुद्री बाढीले सन् २०५० सम्ममा लाखौँ मानिसको ज्यान खतरामा पार्ने देखाएको थियो जुन यसअघिको अध्ययनले देखाएको भन्दा बढी हो । गुटेरसले उक्त अध्ययनलाई उद्धृत गर्दै एसियाली मुलुकहरूलाई चेतावनी दिएका हुन् । उक्त अध्ययनले त्यस्तो खतरा एसियाभरका विकासशील देशमा धेरै रहेको देखाएको थियो ।

गुटेरसले ‘मानिसहरूले खतरामा रहेका मानिसको संख्याको यथार्थताबारे छलफल गरिरहँदा.... यो प्रवृति छ भन्ने कुराचाहिँ कुरा स्पष्ट भएको’ बताएका छन् । उनले यो मुद्दा एसिया ‘खासगरी संवेदनशील’ रहेको बताए जहाँ ‘अर्थपूर्ण संख्यामा’ नयाँ कोइला केन्द्रहरूको योजना गरिएका छन् । ‘हामीले कार्बनमा मूल्य तोक्नुपर्छ । खनिज इन्धनमा सहुलियत दिन बन्द गर्नुपर्छ । र कोइलामा आधारित हुने उर्जा केन्द्रहरूको योजना निर्माणलाई बन्द गर्नुपर्छ’ गुटेरसले चेतावनी दिएका छन् ।

अमेरिका स्थित गैरनाफामुखी समाचार संस्था क्लाइमेट सेन्ट्रलले मंगलबार निकालेको प्रतिवेदनका अनुसार सन् २१०० मा समुद्री सतह भन्दा तल पर्ने क्षेत्रमा १९ करोड मानिसहरू बसोवास गर्ने प्रक्षेपण गरिएको छ । हरितगृह ग्यास उत्सर्जनको क्रम कम गरे पनि चीन, बांगलादेश, भारत, भियतनाम, इण्डोनेसिया र थाइल्याण्डजस्ता यी छवटा एसियाली मुलुकहरूले सन् २०५० सम्ममा प्रत्येक वर्ष समुद्री बाढीको खतरा झेल्नुपर्ने हुनसक्ने उक्त अध्ययनले देखाएको छ । ती तटीय क्षेत्रमा हाल करिब २३ करोड मानिसहरू बसोबास गर्छन् ।

अध्यायनअनुसार चीनमा ९ करोड ३० लाख मानिस प्रभावित हुनेछन् । बांगलादेशमा ४ करोड २० लाख मानिस प्रभावित हुने छन् भने भारतमा ३ करोड ६० लाख मानिस प्रभावित हुनेछन् । यस्तै भियतनाममा ३ करोड १० लाख मानिस प्रभावित हुनेछन् । उता इण्डोनेसियामा २ करोड ३० लाख मानिस प्रभावित हुनेछन् भने थाइल्याण्डमा १ करोड २० लाख मानिस प्रभावित हुनेछन् ।


Views: 53