18th January | 2020 | Saturday | 4:56:20 PM

नयाँ दिल्लीमा बढ्दो प्रदूषणले थप समस्या

रासस/एएफपी   POSTED ON : कार्तिक १९, २०७६ (१०:१० AM)

नयाँ दिल्लीमा बढ्दो प्रदूषणले थप समस्या

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण जनजीवन थप अप्ठ्यारोमा पर्न थालेका समाचारहरू आएका छन् । आइतबारजस्तै सोमबार पनि वातावरण प्रदूषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधन पनि सञ्चालनमा आएका छैनन् । 

जसका कारण वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । निर्माणका कार्य ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपूर्तिका लागि समेत अप्ठ्यारो परिरहेको समाचार आएका छन् । हरेक चिसो मौसमको सुरुमा जस्तै यस वर्ष पनि नयाँ दिल्लीको आकाशको मौसममा खराबी देखिन आएको हो । नयाँ दिल्लीको वायु प्रदूषित भएकाले केही दिनदेखि विद्यालयहरू बन्द गरिएको बताइएको छ । नयाँ दिल्लीको आकाशमा देखिने तुवाँलोका कारण बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरू बन्द गरिएको हो । त्यसैगरी सर्वसाधारण नागरिकहरू पनि अत्यावश्यकताका आधारमा मात्र सडक बजारमा निस्किएका छन् । 

यस मौसममा नयाँ दिल्लीको आकाशमा यहाँका सवारीसाधनहरूको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगहरूबाट निस्किएको प्रदूषित मात्राका कारण यस्तो समस्या उत्पन्न भएको बताइएको छ । यो प्रदूषणको मात्रा गएको तीन वर्षयताकै सबैभन्दा खतरनाक अवस्थामा देखिएको बताइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै यसको मापनका आधारहरू निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार मुख्यमन्त्री केजरिवालले आफ्नो ट्वीटर अकाउण्टमा भिडियो सन्देश दिँदै भनेका थिए, ‘परिस्थिति एकदमै खतरनाक छ, यहाँका बालबालिकामात्र नभएर सबै सर्वसाधारण नागरिकले पनि निकै अप्ठ्यारो महसुस गरिरहेका छन्, सबैले सहजै सास फेर्न सकिरहेका छैनन् ।’ 

यहाँको प्रदूषण धेरै बढेपछि हालैमात्र सरकारले जनस्वास्थ्य संकटकाल नै लगाएको घोषणा गरेको थियो । यसका साथै दिल्लीका मुख्यमन्त्री केजरिवालको सरकारले दिल्लीका सबै विद्यालयहरू ५ नोभेम्बरसम्मका लागि बन्द गरिएको घोषणा गरेका थिए । दुई हप्ताअघि वायु प्रदूषणको मात्रा बढ्न लागेको भनेर दिल्लीका विद्यालयहरूमा प्रदूषणबाट बच्न मास्क बाँडिएको थियो तर मास्कले पनि थेग्न नसक्ने भएपछि यहाँका विद्यालयहरू नै बन्द गराइएको हो । 

केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको र श्वासप्रश्वास मा नै समस्या हुन थालेको छ । चिसो र श्वासप्रश्वासका बिरामीले अस्पतालमा भीड हुन थालेको छ । दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा प्रदूषण हुन लागेको धेरै वर्ष भइसकेको छ । यहाँका मौसमविद्हरूले त यहाँ सास फेर्न गाह्रो भएको भन्दै दिल्ली ग्यास च्याम्बर बनेको बताएका छन् । प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताइएको छ । 

भारतीय राजधानी नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्येको एक सहर नामले पहिलेदेखि नै चिनिदै आएको थियो । उदासीन जनमानस साथै अदूरदर्शी सरकारका कारण भारतीय राजधानीका बासिन्दाको आयु बर्सेनि कम हुदै गएको हालैमात्र गरिएका अध्ययनले देखाएका छन् । नयाँ दिल्लीमा आगामी वर्षको सुरुवातमै राज्य सभाको निर्वाचन आएको छ तर त्यस समयका लागि चुनावी एजेण्डा नै नयाँ दिल्लीको प्रदूषणको विषय उठ्न सक्ने बताइएको छ । अहिले पनि नयाँ दिल्लीमा औद्योगीकरणको मात्रा निकै बढेको भन्दै यस प्रदूषणका लागि राजनीतिक दलहरू र सरकारले नै एकअर्कालाई दोषारोपण गरिरहेका छन् । हावर्ड विश्वविद्यालयका पर्यावरणीय अर्थशास्त्रीहरूले संयुक्तरूपमा गरेको उक्त अध्ययनअनुसार देशका यस्ता सम्पूर्ण क्षेत्रमा प्रदूषण कम गर्दै वायुको गुणस्तर कायम गर्न सके यहाँका करोडौँ बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्ने जनाइएको छ । 

यस विषयलाई गम्भीररूपमा लिन र आवश्यक सुधारका लागि काम गर्न सोमबार केही वातावरणविद्को समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका बताइएको छ । यहाँ आगलागीका कारण बढी मात्रामा प्रदूषण देखिएको बताइएको छ तर पनि यसको कारण आगलागीमात्र पनि नभएको अधिकारीहरूको भनाइ छ । सवारीसाधन र उद्योगबाट निस्कने धुँवा यसको प्रमुख कारण हो । त्यसैगरी फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि नयाँ दिल्लीको आकाशको हावा बढी मात्रामा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ । 

नयाँ दिल्लीको जनसंख्या ४ करोड ५० लाख रहेको छ । भारतीय राजधानी सहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ । नयाँ दिल्ली सरकारले तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरेको थियो । गत वर्षका प्रतिवेदनहरूमा पटाका पड्काउँदा दिल्लीको आकाशको हावा प्रदूषित भएको बताएको थियो तर पनि यस वर्ष पटाका पड्काउन नदिए पनि कुनै प्रभाव नपरेको बताइएको छ । 

यसैबीच समाचार एजेन्सी एएनआईका अनुसार भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो । सोमबारबाट जोर नम्बरका सवारी साधनमात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ । दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदूषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदूषण रोक्ने पहल गरेको हो । 


Views: 68