19th November | 2019 | Tuesday | 1:23:11 PM

ट्वीटरका कर्मचारीले जासुसी गरेको आरोप

एजेन्सी   POSTED ON : कार्तिक २२, २०७६ (९:४३ AM)

ट्वीटरका कर्मचारीले जासुसी गरेको आरोप

वसिङ्टन (एजेन्सी) । संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल ट्वीटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग लगाइएको छ । बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेका थिए ।

वसिङ्टन पोष्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार आरोपितहरूमा अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह रहेका छन् । अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ । अल्मुतैरीले ट्वीटरका दुई कर्मचारी र साउदी अधिकारीहरूबीच मध्यस्थकर्ताको काम गरेको आरोप छ । 

अबुआमोलाई बुधबार सियाटलस्थित अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन् । अबुआमोविरुद्धको अर्को सुनुवाइ शुक्रबार हुनेछ । फर्जी कागजपत्र बनाएको र संघीय अनुसन्धान निकाय एफबीआइसमक्ष गलत बयान दिएको पनि उनीमाथि आरोप लगाइएको छ । सन् २०१५ मा ‘मिडिया पार्टनरशिप म्यानेजर’ पदमा काम गर्दै गर्दा अबुआमोले जागिर छोडेका थिए । अली अल्जाबराह र अहमद अल्मुतैरी दुवैजना हाल साउदी अरबमा रहेको विश्वास गरिएको छ । साउदी एजेण्टहरूको निर्देशनमा ट्वीटरका पूर्वइञ्जिनियर अल्जाबराहले सन् २०१५ मा छ हजारभन्दा ट्वीटर प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणमा पहुँच कायम गरेको आरोप छ ।

अनुसन्धानकर्ताका अनुसार त्यसबारे अल्जाबराहका सुपरिवेक्षकहरूले हस्तक्षेप गरेका थिए । पत्नी एवम् छोरीसहित साउदी अरब जानुअघि उनलाई तलबी बिदामा पठाइएको थियो । एउटा विज्ञप्तिमा ट्वीटरले भनेको छ, ‘विश्वसँग आफ्ना धारणा राख्न र शक्तिमा रहेकाहरूलाई उत्तरदायी बनाउने चाहने हाम्रा प्रयोगकर्ताले सामना गरेको यो अविश्वसनीय जोखिमलाई हामी बुझ्छौँ ।’ साउदी अरब मध्यपूर्वमा अमेरिकाको एउटा महŒवपूर्ण साझेदार हो । गत वर्ष पत्रकार जमाल खशोग्जीको भएको हत्याका कारण आलोचना भइरहँदा पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अधिराज्यसँग नजिकको सम्बन्ध राख्दै आएका छन् । 

टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गएका खशोग्जीको हत्या भएको थियो । पत्रकार खशोग्जीको हत्यालाई लिएर खासगरी साउदी युवराज मोहम्मद बिन सलमानको चर्को आलोचना हुँदै आएको छ । साउदी सरकारका आलोचक खशोग्जीको युवराज मोहम्मदकै निर्देशनमा हत्या गरिएको बताइन्छ । यद्यपि उनले त्यसको खण्डन गर्दै आएका छन् ।


Views: 60