18th January | 2020 | Saturday | 4:47:50 PM

अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर, २० लाख डलर तिर्न आदेश

एजेन्सी   POSTED ON : कार्तिक २३, २०७६ (१०:४५ AM)

अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर, २० लाख डलर तिर्न आदेश

वासिङ्टन । परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउण्डेशनको कोष दुरूपयोग गरेको ठहर गर्दै एउटा अदालतले न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानमा ट्रम्पले आफैँले स्थापना गरेको उक्त संस्थाको रकम खर्च गरेको न्यूयोर्ककी एक न्यायाधीशले ठहर गरेकी हुन् । 

ट्रम्पको स्वार्थपूर्तिका लागि रकम खर्च गरिएको अभियोग लगाइएपछि ‘द डोनल्ड जे ट्रम्प फाउण्डेशन’ सन् २०१८ मा बन्द गरिएको थियो । ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेश न्यायाधीश सालियान स्कार्पलाले दिएकी छन् । ट्रम्प आफूले नै २० लाख डलर तिर्नुपर्ने र त्यो रकम उनीसँग सम्बन्ध नभएका आठवटा परोपकारी संस्थालाई जाने स्कार्पलाको आदेशमा उल्लेख छ । 

पूर्वसैनिकहरूका लागि संकलन गरिएको रकम निर्वाचन अभियानका लागि उपलब्ध गराएर ट्रम्पले संरक्षकको कर्तव्य उल्लंघन गरेको स्कार्पलाको आदेशमा उल्लेख छ । अदालतको फैसलालगत्तै न्यूयोर्ककी महान्यायाधिवक्ता लतिशा जेम्सले राष्ट्रपति ट्रम्पका दुई छोरा डोनल्ड ट्रम्प जुनिअर र एरिक ट्रम्प तथा छोरी इभान्का ट्रम्पले परोपकारी संस्थाका पदाधिकारी र निर्देशकहरूको कर्तव्यबारे अनिवार्यरूपमा तालिम लिनुपर्ने बताइन् । सरकारी अभियोजनकर्ताहरूले अघि बढाएको मुद्दा ट्रम्पले तोकिएको रकम तिरेपछि मात्रै टुंगिने बताइएको छ । ट्रम्प र उनका वकिलहरूले भने उक्त मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गरेका छन् । 

अमेरिकाका धनाढ्य व्यापारी ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि पनि विभिन्न समयमा विवादित बन्दै आएका छन् । उनी दोषी ठहर भएको भने यो पहिलो मुद्दा हो । कट्टर राष्ट्रवादी मानिएका ट्रम्प चुनावकै बेला पनि विवादित थिए । उनीमाथि एक महिलाले बलात्कारको समेत आरोप लगाएकी थिइन् । यो भन्दा पनि गम्भीर मुद्दा ट्रम्पले अर्को भोगिरहेका छन् । उनीमाथि महाअभियोग लगाउने सुरुवाती प्रस्ताव त्यहाँको संसदले हालै पारित गरेको छ । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअगाडि ट्रम्पमाथि यस्ता आरोप अझै बढ्न सक्ने बताइन्छ । 

ट्रम्पले आफ्ना प्रतिस्पर्धी ठानिएका पूर्व उपराष्ट्रपति जे वाइडेनलाई भष्ट्राचारमा मुछ्न युक्रेनलाई दबाब दिएको खुलासा भएपछि विपक्षी डेमोक्र्याटिक पार्टीले उनीमाथि महाअभियोग लगाउने प्रक्रिया सुरु गरेको छ । तर, ट्रम्पले भने यस्ता आरोपको खण्डन गर्दै आएका छन् । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै रुसले राष्ट्रपतीय निर्वाचनमा प्रभाव पारेको मुद्दामा पनि उनी फसेका थिए । ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा विवादित राष्ट्रपति बन्न पुगेको अमेरिकी पत्रिकाहरूले विश्लेषण गरेका छन् । उनको यस्तो विवादित छविले आगामी राष्ट्रपतीय निर्वाचनमा उनलाई घाटा हुनेसमेत विश्लेषण गरिएको छ । 


Views: 92